नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । बुधबार दर्ता गरिएको मुद्दाको सुनुवाइ आगामी १ चैत आइतबारको लागि तोकिएको छ।
गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा महेश बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् ।
कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूको बारेमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने।’
यसका साथै, उनले सार्वजनिक रूपमा भनेका थिए, ‘हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ।’
अधिवक्ता लवन न्यौपानेले रिट निवेदनमा बस्नेतलाई अदालतको अवहेलनामा कारबाही गरी हदसम्मको सजाय दिइ न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन्।


Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्