images
  • कांग्रेस विशेष महाधिवेशन आजबाट सुरु, यस्तो छ कार्यतालिका

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २७, आईतवार ०८:२८ गते
    images

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट सुरु भएको छ । कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

    विशेष महाधिवेशनको पक्षमा रहेका बाहिरी जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । तर उनीहरुले निम्ता भने अस्वीकार गरेका छन् ।

    महामन्त्री थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन भइरहँदा कांग्रेस संस्थापन पक्ष भने असन्तुष्ट देखिएको छ । संस्थापन पक्ष चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने अडान राख्दै आएको छ भने अर्काे पक्ष जसरी पनि चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरेर जानुपर्ने पक्षमा देखिएको छ । जसका फलस्वरुप आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको हो ।

    आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् । विशेष अधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले बन्दसत्रको सभापतित्व गर्ने तय भएको हो । तर कसले गर्ने भन्ने अहिलेसम्म टुंगो भने लागिसकेको छैन ।

    विशेष महाधिवेशनको सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्नेछन् ।

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका हुन् । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्