काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज मंगलबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्। प्रतियोगितामा तीन खेल खेल्दै एक जित र दुई हार बेहोरेको दुई अंकयुक्त विराटनगर छैटॉँ स्थानमा छ भने तीन खेलमा दुई जितसहित चार अंक जोडेको जनकपुर उच्च लयमा छ। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा एन्ड्रे रसेल र एन्जेलो म्याथ्युज जस्ता स्टार खेलाडीहरूसँग मैदान उत्रँदा जनकपुर मोइन अली र सैफ हसनको प्रदर्शनमा भर परेको छ। एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोलीबीच भएका भेटमा नतिजा बराबरी (एक-एक खेल) रहेको छ ।
यसैगरी, साँझ ५ बजे हुने दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी दुई खेलमा एक जित र एक खेल वर्षाका कारण रद्द हुँदा ३ अंकका साथ बलियो स्थितिमा छ र आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ। उता कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले भने पहिलो दुवै खेलमा पराजय बेहोरेको छ र प्रतियोगितामा पहिलो जितको खोजी गर्दै पुनरागमन गर्ने दबाबमा छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्