काठमाडौं । साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्कालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दुका अनुसार प्रशासनले मानिसहरूलाई शान्त रहन र सावधानी अपनाउन भनेको छ।
साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशिकामा मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएको कोठामा सर्न भनिएको छ। अनि जरुरी कामबिना घरबाट बाहिर ननिस्कन र खतरा नहटेसम्म खुला ठाउँ, झ्याल, बाल्कोनी र छानाबाट टाढा रहन सल्लाह दिइएको छ।
नागरिक रक्षा विभागका अनुसार, घरबाहिर रहेकाहरूले पनि तुरुन्तै नजिकैको भवन वा बलियो पर्खाल पछाडि आश्रय लिनुपर्छ। साथै गाडी चलाइरहेको अवस्था हो भने गाडीलाई तुरुन्तै सुरक्षित स्थानमा रोक्न र पुल वा अग्लो भवनबाट टाढा रहन निर्देशन दिइएको छ।
अधिकारीहरूले मानिसहरूलाई खतरनाक क्षेत्र र भेला हुनबाट बच्न नागरिकलाई सुझाव दिएका छन्। प्रशासनले कडा चेतावनी जारी गर्दै भनेको छ, मिसाइल, ड्रोन, वा तिनको सम्भावित प्रभावसँग सम्बन्धित कुनै पनि जानकारी, फोटो वा भिडिओ सार्वजनिक गरे कानुनी कारबाही हुन सक्छ।
साउदी अधिकारीहरूले नागरिकहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न र आपत्कालीन अवस्थामा आपत्कालीन नम्बरहरूमा सम्पर्क गर्न सल्लाह दिएका छन्।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्