काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ ।
मन्त्रालयले शुक्रबार अर्को निर्णय नभएसम्मका लागि संगठनलाई निलम्बन गरेको हो ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको एन-प्याब्सनले मन्त्रालयका निर्देशनहरू बारम्बार अवज्ञा गरेको र संस्थाको उद्देश्य विपरीत गतिविधि सञ्चालन गरेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएको छ । यसअघि मन्त्रालयले सम्बन्धित पक्षहरूलाई राखेर गत असोज २३ गते छलफल गराएको थियो ।
साथै यसअघि जारी गरिएका निर्देशनहरू बमोजिम कार्य गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनहरूको निरन्तर उल्लंघन भएपछि ऐनको व्यवस्था अनुसार कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ ।
यसैबीच, मन्त्रालयले संगठन निलम्बन भइसकेकाले अब एन-प्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधिहरू पूर्ण रूपमा गैरकानूनी हुने स्पष्ट पारेको छ ।
यदि संस्थाको नाममा कुनै गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत गृह मन्त्रालयले दिएको छ।


chautaripatrika

















