• images

    जन्मदिने आमालाईनै २७ लाख ठगे…

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १०, बिहीबार २२:३२ गते
    images

    लोकसेवा आयोगको परीक्षा पास गर्नु र शाखा अधिकृत बन्नु धेरै नेपाली युवाको सपना र प्रतिष्ठाको विषय हुन्छ। तर, परीक्षाको एउटा अक्षर समेत नलेखी आफूलाई शाखा अधिकृत घोषणा गरेर राज्यको सर्वोच्च प्रशासनिक अड्डा ‘सिंहदरबार’ लाई नै आफ्नो खेलमैदान बनाउने एक २३ बर्षका युवकको धन्दाले अहिले प्रहरिलाई नै चकित पारेको छ ।

    ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल झोछे बस्ने समन श्रेष्ठले सरकारी पोसाक (ड्रेस) को आडमा खडा गरेको नक्कली साम्राज्य यति भयानक छ कि, उनले राज्यका सुरक्षाकर्मीलाई मात्र होइन, आफ्नै जन्म दिने आमालाई समेत अन्धकारमा राखेर लाखौँको ठगी धन्दा चलाइरहेका थिए ।

    समनको ठगीको जालो आफ्नै घरबाट सुरु भएको थियो, जहाँ उनले आफ्नै जन्म दिने आमालाई समेत बाँकी राखेनन्।
    लोकसेवा पास गरेर छोरो ‘हाकिम’ भएको हेर्ने आमाको सपनालाई उनले हतियार बनाए। “शाखा अधिकृतमा नाम निकाल्न पहुँच चाहिन्छ र ठूलो खर्च लाग्छ” भन्दै उनले आमालाई गुमराहमा राखेर पटक-पटक गरी झण्डै २७ लाख रुपैयाँ कुम्ल्याए।

    छोरो नीलो कोट-पाइन्ट र सरकारी ड्रेसमा ठाँटिएर घरबाट निस्कँदा आमाको छाती गर्वले फुल्थ्यो। आमालाई विश्वास दिलाउन समनले हरेक महिना ३५ हजार रुपैयाँ “मेरो तलब हो” भन्दै नियमित हातमा थमाउने गर्थे। तर, विडम्वना के थियो भने छोराले तलब भन्दै दिएको त्यो पैसा आमाकै खल्तीबाट लुटिएको २७ लाखकै सानो अंश मात्र थियो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति भएको भन्दै नक्कली कागजात तयार पारेका थिए। उनले सरकारी कर्मचारीले लगाउने आधिकारिक पोसाक नै लगाएर समाजमा आफू अधिकृत भएको भ्रम छरेका थिए। प्राप्त नै नगरेको उच्च ओहोदाको परिचय देखाएर मानिसहरूलाई प्रभावमा पार्ने र अनुचित फाइदा लिन खोजेको सूचना पाएपछि प्रहरीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–१२ टेकु क्षेत्रबाट पक्राउ गरेको हो।

    एसपी काजीकुमार आचार्यका अनुसार उनको साथबाट विभिन्न सरकारी कार्यालयको नक्कली कागजात समेत बरामद गरिएको छ ।उनले सिंहदरबार लगायत अन्य सरकारी कार्यालयमा गई शाखा अधिकृतका रुपमा आफ्नो परिचय दिई लाभ लिने गरेको, जागिर लगाइदिन्छु भन्दै झुक्याई फाइदा लिने गरेको खुल्न आएको छ ।

    उनको साथबाट बागमती प्रदेश लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति भएको पत्र, शिक्षा मन्त्रालयबाट शाखा अधिकृत पदमा नियुक्त पुष्टि गरेकोसम्बन्धी पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानी लिएको नक्कली पत्र समेत बरामद गरिएको छ ।

    अचम्मको कुरा त के भने, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृतको कार्ड बोकेर गृहसचिवदेखि उच्चपदस्थ कर्मचारीलाई समेत सिंहदरबारभित्रै पुगेर भेट्थे ।

    प्रहरीले उनको मोबाइल हेर्दा सरकारी अधिकांश उच्चपदस्थ कर्मचारीको नम्बर सुरक्षित गरेर राखेका थिए ।सिंहदरबार गेटमा खटिएका सुरक्षाकर्मीबाट श्रेष्ठले दैनिक सलाम खान्थे । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने कहिल्यै छिरेनन् । म अरू सबै मन्त्रालय छिरेँ, तर सामान्य प्रशासन मन्त्रालय छिरिनँ,’ श्रेष्ठको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘सामान्यमा छिर्दा थप सोधीखोजी हुन्थ्यो, मेरो बेइज्जत हुन्थ्यो ।’

    खासमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक युवती आफूलाई श्रेष्ठले जागिर लगाइदिने नाममा पटक–पटक दुर्व्यवहार गरेको भन्दै गुनासो लिएर पुगेपछि मात्रै श्रेष्ठमाथि अनुसन्धान शुरू भएको थियो ।

    श्रेष्ठले ती युवतीलाई युनिसेफको जागिर भन्दै नक्कली नियुक्ति पत्र दिएका थिए । उनको खातामा मासिक तलब भनेर २७ हजार रुपैयाँ ई–सेवामार्फत पठाइदिन्थे । युवतीको काम भने श्रेष्ठले बोलाएको ठाउँमा आउने र कफी पिउने मात्रै थियो ।

    गुनासो आएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर ‘तपाईं शाखा अधिकृतको कतिऔँ ब्याच हो ?’ भनेर सोध्यो ।श्रेष्ठले ६७ औं ब्याच भनेर जवाफ दिए । प्रहरीले लोक सेवा आयोगमा बुझ्दा हालसम्म शाखा अधिकृतको ४७ औं ब्याच मात्रै भर्ना भएको तथ्य खुल्यो ।अनि प्रहरी ढुक्क भयो।

    प्रहरीले श्रेष्ठबाट बरामद गरेको परिचय पत्रको नम्बर १०/०८२/८३ उल्लेख गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्डको अवधि २०८२/०१/०३ देखि २०८३/०१/०३ सम्म छ । कार्डमा प्रमाणित गर्नेको दस्तखत पनि श्रेष्ठ आफैंले गरेका छन् ।

    श्रेष्ठले अर्को समूहसँग मन्त्रालयको सिफारिश बनाइदिने नाममा सात लाख असुली गरेको उजुरी प्रहरीमा परेको छ ।
    प्रहरीका अनुसार श्रेष्ठले कार्ड आफैँ छपाइ गरेका थिए । पोशाक पनि आफैँ सिलाउन लगाएका थिए ।

    प्रहरीबाट सलाम खानकै लागि श्रेष्ठ दैनिक ६ पटकसम्म सिंहदरबार भित्र–बाहिर गर्थे ।प्रहरीले श्रेष्ठकी आमालाई पनि अनुसन्धान कार्यालयमा बोलाएको थियो । तर, आमालाई छोराको कर्तुत थाहा थिएन ।

    ‘मलाई त मासिक तलब भन्दै पैसा ल्याएर दिन्थ्यो, परिचय पत्रसहित सरकारी पोशाक लगाएर घरबाट बाहिरिन्थ्यो,’ श्रेष्ठकी आमाले प्रहरीमा भनिन । ‘शाखा अधिकृतमा नाम निकाल्न पैसा खर्च लाग्ने भयो भनेर पैसा समेत लिएको थियो ।’

    प्रहरीले श्रेष्ठलाई अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । (एसपी) आचार्यका अनुसार श्रेष्ठले ठग्ने मनसायले नै शाखा अधिकृतको नक्कली परिचय पत्र बनाई आश्वासन बाँड्दै हिँड्ने गरेको देखिन्छ ।उनले भने, ‘हामीलाई अहिलेसम्म लिखितरूपमा एक जनाको मात्रै उजुरी परेको छ, श्रेष्ठबाट अरू पनि पीडित हुन सक्छन् ।’

    यसरि आफ्नै आमालाई समेत चूना लगाउने र सुरक्षाकर्मीलाई समेत झुक्याएर सलाम खाने यी ‘फर्जी’ अधिकृतलाई अहिले सरकारी छाप तथा लिखत सम्बन्धी कसूर (कीर्ते) मा मुद्दा चलाइएको छ।

    प्रतिक्रिया दिनुहोस्