• images

    कोरियामा श्रीमान्, घरमा आमा र बहिनीले श्रिमतीलाई जिउँदै ज’लाईदिए

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ९, बुधबार २१:३७ गते
    images

    पुस ६ गते, आइतबार, सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटस्थित दुर्गामान बम्जनको साढे दुई तले घरभित्र दिउँसो करिब साढे ४ बजे एउटा यस्तो कोलाहल मच्चियो, जसले टोल नै स्तब्ध बन्यो।

    घरको बीच तलामा रहेको भान्सा कोठाभित्र ३२ वर्षीया सुशीला बम्जनको जिन्दगी सधैँका लागि खरानी भयो।
    श्रीमान् दुई वर्षदेखि कोरियामा पसिना बगाइरहेका बेला यता घरभित्रै सुशीलाले आफ्नै परिवारका सदस्यहरूबाट बीभत्स मृत्युको सामना गर्नु पर्यो।घटनास्थल पुगेको प्रहरी टोलीले जुन दृश्य देख्यो, त्यसले यो घटनालाई एउटा गम्भीर र सुनियोजित अपराधतर्फ संकेत गरेको छ।

    भान्सा कोठाभित्र सुशीला जलेको ठाउमा पेट्रोल सहितका २ बोतल , जलेको अबस्थामा पिधमा पेट्रोल रहेको बोतल , लाइटर र सबैभन्दा डरलाग्दो वस्तु— बाँसको भाटामा सल बेरेर बनाइएको बासको ‘राँको’ फेला पार्छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यो दृश्यले संकेत गर्छ कि सुशीलामाथि पेट्रोल छर्किनुअघि नै ठूलो तयारी गरिएको हुन सक्छ।

    घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५९ वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गर्छ।

    प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा नन्द मीनाले मृतक सुशीलालाई पेट्रोल छर्केर आगो लगाएको भनी बताएको प्रहरीले प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । यद्यपि, यो बयानको विस्तृत प्रमाणीकरण र घटनाको वास्तविक कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।

    यो बीभत्स घटना हुँदा ६२ वर्षीय ससुरा दुर्गामान बम्जन पनि घाइते भएका छन्। उनको हात, खुट्टा र ढाड जलेको अवस्थामा फेला परेपछि उपचारका लागि काठमाडौँ पठाइएको छ।

    मृतक शुसिलाका बुबा प्रेम बहादुर घिसिङले छोरीको हत्या भएको भन्दै सासू र नन्दविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

    जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिएर हिरासतमा राखिएका अभियुक्तद्वयमाथि थप अनुसन्धान भइरहेको छ।

    यता शुशिलाका आफन्तहरुले हारगुहार गरेको सुनेपछि स्थानीय घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको र आगो बलिरहेको बताएका छन ।

    स्थानीयले सासू मायारानीसँग साँचो मागी गेटको ताल्चा खोल्दा सुशीलाको मृत्यु भइसकेको पाइएको थियो । आगो लगाएर उनलाई ढोकामा ताल्चा लगाएको र छिमेकीले आएर चाबी मागेर खोलेर आगो निभाएको शुशिलाकी आफन्त सरिता स्याङ्तानले बताएकी छन् ।

    उनलाई ६–७ वर्षदेखि नै नन्द मीना बम्जन, सासू मायारानी बम्जन र ससुरा दुर्गा बम्जनले निरन्तर यातना दिँदै आएको मृतकका आफन्तको आरोप छ । करिब २ महिनादेखि नन्द मीनाले सुशीलालाई मार्ने धम्की दिँदै आएकी थिइन् । मृतक सुशीलाले आफ्नी भाउजू निर्मलालाई सो कुरा जानकारी गराएकी थिइन् ।

    घटनाको १ घण्टाअगाडि बहिनीसन्धीलाई आफूलाई मार्ने योजना रहेको र नन्दले बिहानैदेखि आजै मार्ने भनेर धम्की दिइरहेको जानकारी गराएको आफूलाई बताएको सरिताले जानकारी दिइन् । सरितालाई जानकारी गराएको १ घण्टामै उनको हत्या भएको माइती पक्षको आरोप छ ।

    पछिल्लो दुई महिनादेखि नन्दले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको सुशीलाले सुनाउँदै आएको सरिता स्याङ्तानले बताइन् । छिमेकी पदमबहादुर अस्थानीले आफूले घटनास्थलमा आएर आगो निभाएको बताएका छन् । उनले आगो निभाएपछि मात्र सुशीलाको शव लडेको अवस्थामा देखेको बताएका छन् ।

    घटना भएपछि घटनास्थलमा आएका मृतकका काका सुकबहादुर घिसिङ, भाउजू निर्मला स्याङ्तानले उनको हत्या नै भएको दाबी गरेका छन् । पटकपटक सुशीलालाई यातना दिने गरेको र माइती पक्षले नै उनलाई घरमा पठाउने गरेको उनीहरूले बताए ।

    घरको भान्साभरि सेलरोटी छरिएको अवस्थामा भेटिएको छ । सेल पकाउने भाँडामा तेल बाँकी रहेको भेटिएको छ। सुशीलाका ७ वर्षका तिम्ल्याहा छोराछोरी छन् । दुई छोरा, एक छोरीकी आमा सुशीला लामो समयदेखि घरेलु हिंसाबाट पीडित रहेको उनका माइतीले बताएका छन् । सुशीलाका श्रीमान सूर्य बम्जन २ वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा छन् ।

    मंगलवार सुशीला बम्जनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, सिन्धुलमा घेराउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेपछि स्थानीयले दबाब दिएका हुन्। 

    पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै दबाब दिएका हुन्।

    सामान्य घरायसी विवादले यति क्रुर रूप लिएको हो वा यसको पछाडि कुनै रहस्य लुकेको छ, त्यो प्रहरीको विस्तृत प्रतिवेदनले नै खुलाउनेछ। तर, धुराबजारको त्यो सुनसान घर र भान्साको भित्तामा लागेको धुवाँको दागले एउटी निर्दोष महिलाको अन्तिम चित्कारको कथा भनिरहे झैँ लाग्छ।

    प्रतिक्रिया दिनुहोस्