वीरगन्जः सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम औषधि अभाव भएपछि वीरगन्जस्थित नारायणी अस्पतालले सोमवार सर्पदंशका बिरामीलाई उपचारका लागि अन्यत्र जानू भन्दै सूचना नै जारी गर्यो । मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त एन्टिस्नेक भेनमको मौज्दात सकिएपछि अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बताए ।
‘अहिले सर्पदंश बढी हुने हुने समय हो । बिरामी आइरहेका छन्, तर औषधि दिन नसक्ने अवस्था भएपछि बाध्य भएर सूचना निकाल्नु पर्यो,’ प्रवक्ता सिंहले भने । नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट र सर्लाहीसहितका जिल्लाबाट सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।
नारायणी अस्पतालमा औषधि अभाव भएपछि बिरामी सिमाना नजिकै भारतका अस्पतालमा गइरहेका छन् । निजी अस्पतालले सामान्यतया एन्टिस्नेक भेनम राखेर सर्पदंशको उपचार गर्दैनन् । नेपालमा ९० प्रजातिका सर्प रहेको अभिलेख भएको पाइन्छ । जसमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । नेपालमा करेत, कोब्रा र बाघे सर्प (रसेल्स भाइपर) बढी विषालु मानिन्छन् । यी ‘बिग थ्री’ भनेर चिनिने सर्पको डसाइले गम्भीर असर पार्छ र मृत्युको सम्भावना उच्च बनाउँछ ।
सर्पदंशबाट प्रभावित हुनेमा तराईका जिल्ला धेरै छन् । सरकारी निकायका अनुसार २६ जिल्ला अति प्रभावितभित्र पर्छन् । तीमध्ये २० वटा जिल्ला तराईका छन् भने चार वटा जिल्ला भित्री मधेश र पहाडमा पर्छन् । सर्पदंश विशेषज्ञका अनुसार सर्पले डस्नेबित्तिकै मानिस आत्तिने र डराउने गर्छन् । तर सबै सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्प विष नलाग्ने खालका हुन्छन् । २० प्रतिशत तल मात्र विषालु हुन्छन् र १० प्रतिशतको टोकाइमा मात्र उपचार गर्नु पर्ने हुन्छ । एन्टिस्नेक भेनम सामान्य औषधि जस्तो बजारका औषधि पसलमा सहजै किन्न पाइँदैन ।
राजगोमन वा करेत जस्ता अत्यन्त विषालु सर्पले टोकेको अवस्थामा एकै बिरामीलाई २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्न सक्छ । यति धेरै मात्रा प्रयोग गर्नु पर्दा उपचार खर्च निकै महँगो हुने भएकाले सर्वसाधारणका लागि आफ्नै खर्चमा खरिद गरेर उपचार गराउन कठिन हुन्छ । त्यसैले सरकारले एन्टिस्नेक भेनम आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
गोमन वा करेतले टोकेका बिरामीको अवस्था गम्भीर भएमा २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव पण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लार्यसका कारण खरिद प्रक्रिया लम्बिएको बताए । उनले एक साताभित्र एन्टिभेनम नेपाल आइपुग्ने दाबी गरेका छन् ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्