• images

    ‘स्लो राइडर’ शीतल गिरीले ८४ दिनमा गरिन् ७७ जिल्लाको यात्रा

    • ओम डिसी ओम डिसी
    • २०८३ श्रावण २६, मंगलवार २१:०३ गते
    images

    काठमाडौँको नागार्जुन नगरपालिकास्थित सितापाइलाकी २३ वर्षीया शीतल गिरीले एक अद्भुत र प्रेरणादायी इतिहास रचेकी छन्। अदम्य साहस र  आत्मबलकी धनी ‘स्लो राइडर’ शीतलले देशका सबै ७७ वटै जिल्लाको  यात्रा मात्र ८४ दिनमा एक्लै (सोलो) पूरा गरेर सकुशल आफ्नो घर फर्केकी हुन ।

    आफ्नो लामो र कडा यात्रा सफलतापूर्वक सकेर गृहस्थान सितापाइला आइपुग्दा शीतललाई स्थानीयवासी, परिवार, सामाजिक सञ्जालका शुभेच्छुक तथा समर्थकहरूले भव्य रूपमा स्वागत गरेका थिए।

    मोटरसाइकलमार्फत सुरक्षित र सुस्त गतिमा यात्रा गर्ने ‘स्लो राइडर’को रूपमा चिनिएकी शीतलको यो यात्रा सहज भने पक्कै थिएन। तराईको रापिलो गर्मीदेखि हिमाली तथा पहाडी भेगका भिरपहरा, हिलाम्मे र जोखिमयुक्त कच्ची सडकहरूलाई छिचोल्दै उनले यो यात्रा तय गरेकी हुन्।

    यात्राका क्रममा उमेर र लैङ्गिक चुनौतीहरूका बाबजुद उनले हरेक जिल्लाका भूगोल, संस्कृति र मानिसहरूसँग नजिकबाट साक्षात्कार गर्ने अवसर पाइन्। एक्लै यात्रा गर्दा आउने प्राविधिक समस्या र भौगोलिक विकटतालाई पछि पार्दै उनले नेपाली महिलाहरू पनि कुनै पनि साहसिक काममा पछाडि छैनन् भन्ने बलियो सन्देश दिएकी छन्।

    आफ्ना यात्राका अनुभव र रोमाञ्चक पलहरूलाई उनले डिजिटल माध्यमबाट पनि उत्तिकै प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएकी छन्। सामाजिक सञ्जालमा  लोकप्रिय रहेकी शीतलको युट्युबमा २१ हजारभन्दा बढी सब्सक्राइबर र फेसबुकमा १ लाख ७९ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

    यात्राका क्रममा उनीद्वारा तयार पारिएका दृश्य र अनुभवहरूलाई अनलाइनमार्फत हेरेर देशभरका दर्शकले उनलाई निरन्तर साथ र हौसला प्रदान गरेका थिए।  कलिलो उमेरमा सिङ्गो देशलाई आफ्नो हिम्मतले नापेर फर्किएकी गिरी अहिले धेरैका लागि आत्मनिर्भरता र अदम्य साहसकी प्रतिमूर्ति बनेकी छन्।

    प्रतिक्रिया दिनुहोस्