काठमाडौं । सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ ।बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् ।
यसअघि उनले सिनेमा ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो । साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत दखिएका थिए ।
सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन् । १२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन् । यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन् ।
स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा भोलानाथ कटवालको लगानीमा बन्नेछ । यसअघि सिनेमामा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् । सिनेमामा मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक चौहानले बताए । सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन् ।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्