• images

    कर्मा ग्याङ’को लुट साम्राज्य

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १८, सोमबार ०९:४७ गते
    images

    गत असार १३ गते काठमाडौंको शान्तिनगरमा बाटोमा हिँडिरहेकी एक महिलालाई मोटरसाइकलमा आएका दुई जनाले बाटो रोके। ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भन्दै अल्मल्याए। त्यसपछि उनलाई बाटोमै लडाएर घाँटीमा लगाएको करिब साढे दुई तोलाको सुनको सिक्री लुटेर फरार भए।
    ooo

    ७ साउन दिउँसो करिब साढे १ बजेतिर यही समूहले धापासी हाइट मन्दिरनजिक हिँडिरहेकी ६६ वर्षीया महिलाको घाँटीबाट सुनको सिक्री लुट्यो। मोटरसाइकलमा आएका व्यक्तिहरूले महिलालाई लछारपछार गर्दै सिक्री लुटेर भागेका थिए।

    १५ असार राति बनेपास्थित सेतीदेवी दुग्ध सहकारी गाई फार्मनजिक दूध लिन आएकी एक महिलाको मुख थुनेर, घाँटी समात्दै सिक्री लुटिएको थियो।
    सोही १५ असारको बिहानै कायस्थ थरका एक व्यक्ति पनि यही समूहको निशानामा परे। ‘जडिबुटी जाने बाटो कता हो ? ’ भन्दै सोध्ने निहुँमा उनीसँग करिब तीन तोला सुनको सिक्री लुटेर समूह फरार भयो।
    ooo

    पछिल्लो समय काठमाडौं उपत्यकामा वृद्धवृद्धालाई लक्षित गर्दै लुटपाट गर्ने तथा सुनका सिक्री लुटेर फरार हुने घटना उल्लेख्य रूपमा बढेका छन्। कहिले काठमाडौं, कहिले भक्तपुर त कहिले अन्य स्थानबाट उस्तै प्रकृतिका उजुरी आउन थालेपछि प्रहरी चनाखो बनेको थियो।

    अनुसन्धान गर्दै जादा प्रहरीले साउन १५ गते शुक्रबार बनेपाबाट चार जनालाई प्रहरीले पक्राउ गर्यो , उनीहरू काठमाडौंबाट लुटपाट गरेपछि केही दिनका लागि लुक्न काठमाडौं बाहिर जाने गरेको अनुसन्धान बाट खुल्यो तर नाईके अझै अर्को रहेको अनुसन्धान बाट खुल्यो ।

    नाईके थिए सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ का ३४ वर्षीय कर्मा तामाङ अब उनलाई खोज्न लाग्यो प्रहरी , उनी पेशाले सवारी चालक थिए । तर यसअघि ९ पटक डाँका चोरीकै मुद्दामा पक्राउ परिसकेका थिए।

    अब कर्मा तामाङको बसोबास र आवतजावतको सम्भावित स्थान प्रहरीले आकलन गर्‍यो। साउन १६ गते शनिबार राति १० बजेर २५ मिनेट तिर काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल, गाम्चास्थित पानी ट्याङ्की नजिक कर्मा तामाङलाई प्रहरीले फेला पार्यो।

    जिल्ला प्रहरी परिसर काठमाडौँका कार्यालय प्रमुख एसएसपी दीलिप घिमिरेका अनुसार कर्मालाई पक्राउ गर्न खोज्दा उनले प्रहरी टोलीलाई खुकुरीले आक्रमण प्रयास गरेपछि सुरुमा दुई राउन्ड हवाई फायर गर्यो र त्यतिगर्दा पनि आक्रमण प्रयास गर्दै मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गर्यो र उनलाई नियन्त्रनमा लियो । यही घटनामा पक्राउ परेका अन्य काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरूङ र मनोज तामाङ हुन।

    प्रतिमान लुटपाट गर्न जाँदा मोटरसाइकल चलाउँथे। उनी यसअघि पनि पक्राउ परेर जेनजी आन्दोलनको समयमा फरार भएका थिए। तर प्रहरीले उनलाई पुनः पक्राउ गरेको थियो। नक्खु कारागारबाट तीन साता पहिले मात्रै छुटेका उनी पुनः लुटपाटमा सक्रीय भएका थिए।उनीविरूद्ध दुई वटा मुद्दा दर्ता भएको पृष्ठभूमि छ।

    त्यसैगरी पासाङ मोटरसाइकल चोरीका विशेषज्ञ मानिन्छन्। उनलेनै मोटरसाइकल उपलब्ध गराउँथे भने उनीविरूद्ध चार वटा मुद्दा दर्ता रहेको देखिन्छ।पासाङले २० वटाभन्दा बढी मोटरसाइकल चोरी सकेको प्रहरीलाई बताएका छन्। कर्मा समूहलाई लुटपाटमा आवश्यक पर्ने मोटरसाइकल उनले नै उपलब्ध गराउँदै आएका थिए। 

    आले गुरुङ कास्कीको सारङकोट घर भइ हाल बौद्ध बस्दै आएका थिए। उनि घटनास्थल वरिपरि सशस्त्र रूपमा ‘स्ट्याण्डबाई’ रहने भूमिकामा थिए, उनी लुटपाटमा जाँदा कुटपिट गर्न परे पुग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मनोज तामाङ सुन पसले हुन्। कर्मा समूहले लुटेका सुन मनोजले किन्ने गरेको खुलेको छ। उनको बनेपामा सुन पसल छ।

    समूहका नाइके कर्मा तामाङ यसअघि ९ पटक डाँका चोरीकै मुद्दामा पक्राउ परिसकेका थिए। यसअघि उनीविरुद्ध २०७९ भदौ ५ गते एउटा, भदौ १९ गते चार वटा मुद्दा प्रहरी वृत्त बौद्धबाट चलेको थियो।

    २०८० साउन २४ गते प्रहरी वृत्त ठिमीबाट, २०८२ भदौ ३ गते स्वयम्भूबाट, २०८० भदौ ११ गते सातदोबाटो वृत्तबाट र २०८२ भदौ ५ गते स्वयम्भूबाट उनि बिरुद्ध डाँका चोरी मुद्दा दर्ता भएको खुलेको छ। डाँका चोरीकै मुद्दामा अनुसन्धान चलिरहँदा उनी भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए।  त्यसपछि उनी मोटरसाइकल र सुनका सिक्री लुटपाटमा संलग्न रहेको खुलेको छ।

    यसरी हुन्थ्यो लुटपाटको योजना

    यो समूहको काम गर्ने शैली निकै नै योजनाबद्ध र व्यवसायिक देखिएको प्रहरीको भनाइ छ। कर्मा समूहले लुटपाटमा प्रयोग गर्नका लागि सुरुमा २२० सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको पाइएको छ।

    चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट तत्कालै परिवर्तन गरी उनीहरू शिकारको खोजीमा निस्कन्थे। बाटोमा हिँडिरहेका महिला वा वृद्धाहरूलाई फेला पारेपछि उनीहरूले ‘फलानो ठाउँ जाने बाटो कता हो?’ भन्दै सोध्ने बहानामा अलमल्याउने र मौका छोपेर घाँटीको सिक्री लुटी फरार हुने गर्दथे।

    लुटपाट गरिसकेपछि उनीहरूले पुनः मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने र उक्त मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेका थिए। घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान फरक–फरक नम्बर प्लेट र मोटरसाइकलको लक तोड्न प्रयोग गरिने मास्टर की र टी-लक  समेत बरामद गरेको छ।

    प्रतिक्रिया दिनुहोस्