• नेपालगन्जमा जलेर मृत्यु भएकी युवतीको घटना: श्रीमानसँग सम्बन्धविच्छेदपछि लिभिङ टुगेदरमा, ३ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र १५, आईतवार २२:०९ गते
    images

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुर क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत भेटिएपछि उक्त घटना रहस्यमय बनेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले दिएको जानकारीअनुसार १४ गते राति करिब ११ :३५ बजे सडकमा एक जना महिला आगोले जलेको अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

    प्रहरी पुग्दा ती महिलाको शरीर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो। तत्काल उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा १५ गते बिहान ०१:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    अनुसन्धानका क्रममा मृतक महिला नेपालगन्ज उपमहानगरपालिका–१२ कै स्थायी बासिन्दा २२ वर्षीया सिजना बुढा मगर रहेको खुलेको प्रहरीले जनाएको छ। उनी विवाहित थिइन् र उनका चार वर्षीया छोरी पनि रहेको तथ्य खुलेको छ। श्रीमानसँग सम्बन्ध विच्छेदपछि उनी नेपालगन्ज–८ रानीताल क्षेत्रमा बस्दै आएका २४ वर्षीय मो. आरिफ धपालीसँग विगत दुई वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार २०८२ चैत १३ गते मृतकले आफूलाई आरिफले कुटपिट गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन्। सोही दिन राति आरिफलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा दुवैबीच मिलापत्र भई सँगै बस्ने सहमति भएको खुलेको छ।

    तर, घटना भएको स्थान मृतक बस्ने कोठा नजिक नभई आरिफको घर नजिक रहेको देखिएकोले घटना कसरी घट्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकका आफन्तको जाहेरीका आधारमा मो. आरिफ धपाली, उनकी आमा र दिदीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

    शवको पोस्टमार्टम गरिएको जानकारी दिँदै आत्महत्या वा हत्या के हो भन्ने विषयमा गम्भीर रूपमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। साथै सामाजिक सञ्जालमा अनावश्यक अफवाह फैलाउने वा समाजमा द्वन्द्व सिर्जना गर्ने खालका टिप्पणी नगर्न सबैलाई अनुरोध गर्दै आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्