सुर्खेत । स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ।
यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ ।
शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न बस्तीमा आम्चीहरूले स्थानीय जडीबुटीबाट तयार पारिएका औषधि तथा परम्परागत उपचार विधिमार्फत बिरामीको उपचार गर्दै आएका छन्।
भौगोलिक विकटता र आधुनिक स्वास्थ्य सेवामा सीमित पहुँचका कारण आम्ची उपचार पद्धतिप्रति स्थानीयवासीको विश्वास र आकर्षण कायमै छ।
आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने अवस्थामा आम्चीहरू स्थानीय समुदायका लागि उपचारका पहिलो सम्पर्क बन्ने गरेका छन्। तर यही अवस्थाले दुर्गम क्षेत्रका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता पनि उजागर गरेको छ।
डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङका अनुसार गाउँपालिकाले परम्परागत आम्ची उपचार पद्धतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ। स्थानीय मौलिक ज्ञान र उपचार सीपको संरक्षण गर्दै आम्ची सेवालाई निरन्तरता दिन पालिकाले विभिन्न कार्यक्रम तथा बजेटमार्फत सहयोग गर्दै आएको उनको भनाइ छ।
तीन गाउँपालिकाको नीति र बजेटमा आम्ची चिकित्सा
उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाले स्थानीयस्तरमा प्रचलित आम्ची अर्थात् सोवा रिग्पा चिकित्सा पद्धतिको संरक्षण, विकास र प्रवद्र्धनका लागि नीतिगत तथा संस्थागत प्रयास गर्दै आएका छन्। यसमा कानुनी व्यवस्था, औषधि खरिद, जडीबुटी सङ्कलन, आम्ची स्वास्थ्य केन्द्रको विकास र परम्परागत ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने विषय समेटिएका छन्।
शे–फोक्सुण्डो गाउँपालिकाले ‘परम्परागत उपचार पद्धति (आम्ची) संरक्षण र व्यवस्थापनसम्बन्धी ऐन, २०८२’ पारित गरी आम्ची सेवालाई कानुनी आधारमा व्यवस्थित गर्ने प्रयास गरेको छ।
स्थानीय आम्चीले उत्पादन गरेका परम्परागत औषधिको बजार व्यवस्थापन र तिब्बतसम्म निर्यातको सम्भावनामा समेत पालिकाले सहयोग गर्ने योजना अघि सारेको विवरणमा उल्लेख छ।
त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाले ‘रोग निवारणका लागि आयुर्वेद (आम्ची) र योग’ भन्ने अवधारणासहित वार्षिक कार्यक्रम तथा बजेटमा आम्ची उपचार पद्धतिलाई समेट्दै आएको छ। यसअन्तर्गत आवश्यक स्थानीय जडीबुटी, वनस्पति तथा परम्परागत औषधिको सङ्कलन र खरिदका लागि बजेट विनियोजन गर्ने गरिएको छ।
तीनवटै गाउँपालिकाले आम्ची उपचार पद्धतिको विकासका लागि स्थानीयस्तरमा आम्ची स्वास्थ्य केन्द्र स्थापना, परम्परागत ज्ञानको संरक्षण र विद्यालयमा स्थानीय भाषा तथा आम्ची ज्ञानसँग सम्बन्धित विषय समेट्ने नीतिगत प्रयाससमेत अघि बढाएका छन्।
भौगोलिक विकटताका कारण आधुनिक औषधि तथा स्वास्थ्य सामग्री ढुवानी गर्न कठिन हुने भएकाले स्थानीय आम्चीलाई सेवा निरन्तरताका लागि आर्थिक सहयोग र प्रोत्साहन उपलब्ध गराउने विषय पनि स्थानीय तहका कार्यक्रमसँग जोडिएको छ।
करिब ६४ आम्ची सक्रिय रहेको अनुमान
उपल्लो डोल्पाको भोट क्षेत्रमा आधुनिक चिकित्सक तथा स्वास्थ्यकर्मीको नियमित उपस्थिति सीमित हुने भएकाले परम्परागत उपचार पद्धति अभ्यास गर्ने आम्चीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यहाँ करिब ६४ जना आम्ची सक्रिय रहेको पालिकाले जनाएका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकामा करिब ३० देखि ३५ जना आम्ची सक्रिय रहेको पालिकाले जनाएको छ । साल्दाङ, भिजेर र फोक्सुण्डो क्षेत्रका विभिन्न बस्तीमा उनीहरूले परम्परागत उपचार सेवा दिँदै आएका छन्।
डोल्पोबुद्ध गाउँपालिकामा करिब १५ देखि १८ जना आम्चीले सेवा दिएका छन् । धो, ताक्सी र तिन्जे क्षेत्रका बासिन्दाले परम्परागत उपचारका लागि आम्चीको सेवा लिने गरेका छन्। त्यस्तै, छार्काताङसोङ गाउँपालिकाको मुकोट र छार्का भोट क्षेत्रमा करिब १० देखि १२ जना आम्ची सक्रिय रहेका छन् । उच्च हिमाली भूगोल र बस्तीबीचको लामो दूरीका बाबजुद उनीहरूले स्थानीयवासीलाई उपचार सेवा दिँदै आएका छन्।
नाडी, जिब्रो र मूत्र परीक्षणबाट रोग पहिचान
उपल्लो डोल्पामा प्रचलित आम्ची उपचार पद्धतिलाई ‘सोवा रिग्पा’ भनिन्छ। यसमा परम्परागत ज्ञान, प्राकृतिक औषधि, खानपान तथा जीवनशैलीसम्बन्धी सुझाव र विभिन्न बाह्य उपचार विधिको प्रयोग गरिन्छ।
आम्चीहरूले बिरामीको नाडी छाम्ने, जिब्रो तथा आँखाको अवस्था निरीक्षण गर्ने र रङ, गन्ध तथा अन्य विशेषता हेरेर रोगको प्रकृति पहिचान गर्ने परम्परागत विधि अपनाउँछन्। त्यसपछि बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार उपचार गर्ने गरिन्छ।
स्थानीय हिमाली क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरी परम्परागत विधिबाट औषधि तयार पार्नु आम्ची उपचारको अर्को महत्वपूर्ण पक्ष हो।
यार्सागुम्बा, पाँचऔँले, निरमसी, पदमचाललगायतका वनस्पति तथा जडीबुटीको प्रयोगसम्बन्धी ज्ञान यस परम्परासँग जोडिएको छ। यस्ता वनस्पतिको औषधीय उपयोग, उपलब्धता र संरक्षणमा भने वैज्ञानिक अध्ययन तथा दिगो सङ्कलन आवश्यक मानिएको छ ।
औषधिको प्रयोगसँगै खानपान, आराम, जीवनशैली र वातावरणसम्बन्धी सुझाव पनि दिइन्छ। कतिपय अवस्थामा तातो वा चिसो सेकाइ, जडीबुटीयुक्त तेलले मालिस गर्ने तथा अन्य परम्परागत बाह्य उपचार विधि अपनाइन्छन्।
बोन र बौद्ध संस्कृतिसँग जोडिएको उपचार परम्परा
उपल्लो डोल्पाको सामाजिक तथा सांस्कृतिक जीवन बोन र बौद्ध परम्परासँग गहिरो रूपमा जोडिएको छ। यही सांस्कृतिक परिवेशमा आम्ची उपचार पद्धतिको विकास र अभ्यास हुँदै आएको छ । आम्चीहरूले शारीरिक उपचारसँगै प्रार्थना, मन्त्रोच्चारण र आध्यात्मिक अभ्यासलाई पनि कतिपय उपचार प्रक्रियासँग जोड्ने गरेका छन्। स्थानीय समुदायले यसलाई आफ्नो संस्कृति, परम्परा र पुस्तौँदेखि प्राप्त ज्ञानको अभिन्न अङ्गका रूपमा लिने गरेका छन्।
प्रसिद्ध परम्परागत चिकित्सक, बौद्ध लामा तथा भोट संस्कृति अभियन्ता आम्ची नामग्याल रिन्पोछेले पनि आम्ची ज्ञान र हिमाली संस्कृति संरक्षणको महत्वबारे जोड दिँदै आएका छन्। यस पद्धतिमा औषधि तथा उपचार सीपसँगै स्थानीय भाषा, सांस्कृतिक अभ्यास र पुस्तान्तरण हुँदै आएको ज्ञानसमेत समेटिएको छ।
परम्परागत ज्ञान संरक्षणसँगै सुरक्षित उपचारमा जोड
आम्ची उपचार पद्धति उपल्लो डोल्पाको मौलिक पहिचान र सांस्कृतिक सम्पदा हो। यसको संरक्षण गर्नु स्थानीय ज्ञान, जडीबुटीको पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप जोगाउनु रहेको स्थानीयको भनाइ छ ।
तर परम्परागत उपचारलाई व्यवस्थित बनाउन औषधिको गुणस्तर परीक्षण, सुरक्षित प्रयोग, उपचार विधिको अभिलेखीकरण र प्रभावकारितासम्बन्धी अध्ययन आवश्यक रहेको स्थानीय सरोकारवालाहरुको भनाइ छ ।


Salina Magar 













प्रतिक्रिया दिनुहोस्