images
  • स्वदेशमै बसेर पनि परिवारसँग दशैँ मनाउन नपाउनेहरू…

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक ६, बिहीबार ०९:१० गते
    images
    images
    images

    स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट वञ्चित हुने गरेका छन् ।

    कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरू यसरी बडादशैँको टीका थाप्नबाट बञ्चित हुन्छन् ।
    अरूको दशैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिन सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल ९० प्रतिशत हाराहारी प्रहरी सेवामा रहेकाले घरमा गएर टीका थाप्न घर जान नपाउने बताउँछन् ।

    उनले भने, ‘सर्वसाधारणले सुरक्षित चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ ।’

    संवेदनशील जिल्लामा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए । जिम्मेवारी लिएकाले बिदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दशैँ मनाउने उनले जानकारी दिए ।

    यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दशैँ मनाउन पाउँदैनन् ।

    त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरूले पनि बिदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन् ।

    चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको बिदा नपाउने उनको भनाइ छ । उनले भने, ‘चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।’

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दशैँको टीका थाप्न नपाउने बताउँछन् ।

    बहिरङ्ग सेवाबाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ ।

    उनीहरूले दशैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन् । बगालेले भने, ‘जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।’

    पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछन् ।

    उनले भने, ‘दशैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ ।’ जसका कारण ५० प्रतिशत नर्सले दशैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ ।

    विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन् । उनीहरूमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दशैँमा नेपाल आउने गर्दछन् ।

    चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपु गेका विष्णु पौडेलले पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताए ।

    यस्तै, अन्य क्षेत्रमा पेशा गर्नेहरू पनि टीका लगाउनबाट वञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरूले काम गर्छन् । रासस

    प्रतिक्रिया दिनुहोस्