काठमाडौँ — प्रहरी सेवामा देखाएको उत्कृष्ट कार्यसम्पादन र पेसागत निष्ठाको कदर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले उनलाई सो पुरस्कारबाट सम्मानित गर्न लागेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमान्ड सम्हालेदेखि नै एसपी जिसीले क्षेत्रगत शान्ति-सुरक्षा, अपराध नियन्त्रण र समुदाय केन्द्रित प्रहरी सेवा प्रवाहमा उल्लेखनीय काम गर्दै आएका छन्। विशेष गरी नेपाल-भारत सीमावर्ती जिल्ला बाँकेमा मौलाउँदो लागुऔषधको अवैध ओसारपसार र तस्करीको सञ्जाल तोड्न उनले आक्रामक एवं प्रभावकारी अभियान सञ्चालन गर्दै आएका छन्।
त्यसैगरी, सीमापार अपराध नियन्त्रण, जिल्लाभित्रको गुण्डागर्दी निर्मूल पार्ने कार्य, चोरी-तस्करी नियन्त्रण र पुराना तथा जटिल आपराधिक घटनाहरूको निष्पक्ष र सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन उनि निरन्तर सक्रिय रहँदै आएका छन्।
यसैबीच, ७१औँ प्रहरी दिवस तथा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुन कार्यान्वयन र प्रहरी सेवा प्रवाहमा उच्च मनोबल, अटुट प्रतिबद्धता तथा पूर्ण व्यावसायिकताका साथ राष्ट्र र नागरिकप्रतिको दायित्व निर्वाह गर्न सबै प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन्।
‘विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्शलाई अघि बढाउँदै बदलिँदो सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न सक्षम र प्रविधिमैत्री संगठन निर्माणमा जोड दिइएको आइजीपी कार्कीले सन्देशमा उल्लेख गरेका छन्।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्