images
  • बाढीपीडित बस्तीमा छैन दसैँको रौनक

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २८, बुधबार १०:२९ गते
    images
    images
    images

    सुर्खेत, असोज २७ गते । बडादसैँ सुरु भइसकेको छ । बिदेसिएका पनि दसैँ मनाउन घर फर्किन थालेका छन् तर वीरेन्द्रनगर नगरपालिका–१ को सामुदायिक वन क्षेत्र गिरीघाटमा बसिरहेका बाढीपीडित बस्तीमा भने अहिले पनि चाडपर्वको कुनै रौनक छैन ।

    उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत ११ वर्षयता उनीहरूका लागि दसैँमा कुनै उमङ्ग नै आएको छैन । २०७१ सालमा आएको बाढीले सयौँलाई घरबारविहीन बनायो । कैयनले परिवारका सदस्य र आफन्त गुमाए । दर्जनभन्दा बढीको ज्यान गयो ।

    त्यो अप्रत्याशित घटना भएको ११ वर्ष बित्यो । अझै पनि गिरीघाट बस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् । आफन्तले घर भरिन्थ्यो, टीका र आशीर्वाद थाप्नेको भिड हुन्थ्यो, बेलुका आँगनमा नाचगान पनि चल्थ्यो ।

    ११ वर्षअघिसम्म डिलबहादुर विकको घरमा दसैँले यस्तै उमङ्ग ल्याउँथ्यो तर पछिल्ला वर्षमा दसैँको कुनै अनुभूति नै हुन सकेको छैन । बिहानबेलुका छाक टार्नै मुस्किल भइरहेको

    डिलबहादुरले बताउनुभयो । शिविरमा बस्दै आएका रामबहादुर नेपालीले एक दशकदेखि पालमुनि कष्टकर रूपमा थुप्रै दसैँ मनाइसकेको बताउनुभयो । ज्यालामजदुरी गरेर अझै कति दसैँ मनाउनुपर्ने हो थाहा छैन, उहाँलाई दसैँले छोएको छैन ।

    २०७१ साउन ३० गते आएको बाढीले कमला विकको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडकछेउमा बस्न थालेको ११ वर्ष पुग्यो । समस्या ज्युँका त्युँ रहेको भन्दै उहाँले चाडपर्व आउँदा झनै समस्या हुने गरेको सुनाउनुभयो । वराहताल गाउँपालिका–२ का १२५ घरधुरी गिरीघाटस्थित वीरेन्द्रनगर वडा नं. १ को सामुदायिक वनक्षेत्रमा बसिरहेका छन् । विस्थापित भएकै एक दशक पुग्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइँ मात्र असुरक्षित छैन, बिहानबेलुकाको गास जुटाउन पनि उस्तै मुस्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली जस्ता सुविधाबाट उनीहरू वञ्चित छन् ।

    शिविरकी हरिकला विकले चाडपर्व आउँदा झनै समस्या हुने गरेको बताउनुभयो । ११ वर्षदेखि पुराना खुइलिएका पालको शरणमा बस्नु परेको भन्दै उहाँले बिहानबेलुकीको छाक टार्नका लागि कामको खोजीमा दौडनु परेको सुनाउनुभयो ।

    नयाँ लत्ताकपडा किन्न, मिठोमसिनो खान सक्ने अवस्था नभएपछि यो बस्तीमा दसैँको उल्लास पनि छैन । दसैँ आउन केही दिन बाँकी रहँदा पनि सबै आआफ्नो रोजीरोटीका काममा व्यस्त छन् । उनीहरूले गिट्टी, बालुवा र दाउरा बिक्री गरेर दैनिकी चलाउँदै आएका छन् । रोजगारीको समेत उचित व्यवस्था नहुँदा थप समस्या भइरहेको छ । बिहानबेलुका छाक टार्न मुस्किल हुने गरेको छ । समुदायमा बालबालिका र वृद्धवृद्धा मात्र भेटिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्