कञ्चनपुर । भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ।
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ। तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उनले बताए।
शव रहेको स्थान लोकेट भएको छ। पानीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिन्छ,’ कोइरालाले भने, ‘पानीको बहाव तीव्र भएकाले शव निकाल्न चुनौती भइरहेको छ। गोताखोर टोली र नेपाली सेनाले प्रयास गरिरहेका छन्।’
उनका अनुसार आवश्यक परे पानीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्