काठमाडौँ, असोज २७ गते । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १८ जना सवारी चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार घटस्थापनाको दिन असोज २५ देखि आज असोज २७ गते साँझसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा १८ जना चालक कारबाहीमा परेका हुन् । चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक सवारी साधनको प्रयोग बढ्ने भएकाले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने नौ र लागुऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने नौ जना छन् । यात्रुको सुरक्षालाई बेवास्ता गर्दै मापसे तथा लापसे गरी सार्वजनिक सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले यात्रुको जीवन जोखिममा पारेर मापसे तथा लापसे गरी सवारी चलाउनु गैरजिम्मेवार कार्य भएको बताउनुभयो । उहाँले सार्वजनिक सवारीका चालकले यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
“यात्रुको जीवन नै जोखिममा राखेर लापसे र मापसे सेवन गरी सार्वजनिक सवारी चलाउनु ठुलो गल्ती एवम् गैरजिम्मेवारी काम हो । मापसे र लापसे गरी सवारी चलाउने १८ जनालाई कारबाही गरिएको छ,” उहाँले भन्नुभयो ।
ट्राफिक प्रहरीले मापसे तथा लापसे जाँचसँगै सवारीसाधनको यान्त्रिक अवस्था र चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको निगरानीलाई पनि तीव्र बनाएको छ । विशेष चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ६० सवारीसाधन तथा तीव्र गतिमा सवारी चलाउने ७६ सवारीसाधनका चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
सवारीसाधनको यान्त्रिक अवस्था कमजोर हुँदा तथा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको प्रमुख काफ्लेले बताउनुभयो ।
विशेषगरी चाडपर्वको समयमा लामो दूरीका यात्रु बोकेका सार्वजनिक सवारीसाधन सुरक्षित तरिकाले सञ्चालन गर्नुपर्ने, चालकको जिम्मेवारी र सवारीको प्राविधिक अवस्थालाई ट्राफिक प्रहरीले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाइ छ । रासस
दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व सुरु भएसँगै काठमाडौँ उपत्यकामा घर फर्किने तथा उपत्यकाबाहिरबाट आउने यात्रुको चाप बढ्न थालेको छ । यही अवस्थालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकजाँच तथा निगरानी बढाएको हो । चाडपर्वका बेला हुने सम्भावित दुर्घटना रोक्नु, यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्नु र ट्राफिक नियम उल्लङ्घनका घटना नियन्त्रण गर्नु अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
यसै क्रममा काठमाडौँका नागढुङ्गा, नयाँ बसपार्क, कोटेश्वर, कलङ्की र भक्तपुरको जगाती लगायतका स्थानमा ट्राफिक प्रहरीले विशेष चेकजाँच सुरु गरेको छ । अभियानअन्तर्गत मापसे तथा लापसे परीक्षण, सवारीसाधनको यान्त्रिक अवस्था जाँच, तीव्र गति नियन्त्रण तथा अन्य ट्राफिक नियमको पालना भए–नभएको विषयमा निगरानी गरिने छ ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र दुर्घटनारहित बनाउन ट्राफिक प्रहरीको चेकजाँचसँगै चालक, यात्रु र सर्वसाधारणको जिम्मेवार व्यवहार आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख काफ्लेको भनाइ छ । रासस


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्