images
  • बूढीगण्डकी बाढी : चितवनमा बस्ती डुबाउने जोखिम छैन

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार १३:१४ गते
    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी पास भइसकेको र तल्लो तटीय क्षेत्रमा बस्ती डुबाउने गरी ठूलो बाढी आउने सम्भावना तत्काललाई नदेखिएको बताएका छन्। उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।

    बूढीगण्डकी नदीको बहाव आरुघाटमा करिब सात मिटर बढेको पराजुलीले बताएका छन्। माथिल्लो क्षेत्रमा भने नदीको सतह आठदेखि नौ मिटरसम्म बढेको प्रारम्भिक आकलन छ। बाढी त्रिशूली नदीमा मिसिएपछि पानीको सतह तीनदेखि चार मिटरसम्म बढ्न सक्ने उनले बताए।

    ‘मुख्य ठूलो बाढी आएको देखिन्छ। अब सानासाना बाढी कतैकतै आउन सक्छन्, माथिल्लो क्षेत्रमा पानी थुनिएको हुन सक्छ। तर तत्कालै फेरि यस्तै ठूलो बाढी आउने सम्भावना देखिँदैन,’ पराजुलीले नागरिकन्युजलाई जानकारी दिए।

    बूढीगण्डकी करिडोरमा बाढीको जोखिम ठूलो भए पनि त्रिशूलीमा मिसिएपछि तल्लो क्षेत्रमा बस्ती तथा सडकमा पानी उक्लिने अवस्था नदेखिएको उनले बताए। यद्यपि नदी किनारमा कटान हुन सक्ने जोखिम भने रहेको उनको भनाइ छ।

    ‘चितवनतिर बस्ती र बाटोघाटमा उक्लिने बाढी होइन। माछा मार्न जाने वा खोलाको छेउछाउमा पुग्नेहरूलाई भने जोखिम हुन सक्छ,’ उनले भने।

    बाढी नारायणगढको पुल क्षेत्रमा पुग्दा पानीको सतह करिब दुई मिटर बढ्न सक्ने उनको अनुमान छ। बाढी भारतको सीमासम्म पुग्न थप सातदेखि आठ घण्टा लाग्न सक्ने उनले बताए।

    ‘बाढीको वर्तमान स्थिति नियाल्दा बाढी बेनीघाट आसपास छ अहिले। अब थप ३ देखि ४ घण्टाभित्र चितवन पुग्छ अनि यो इन्डिया बोर्डर पुग्न अर्को ७–८ घण्टा जति लाग्छ,’ उनले भने।

    बाढीको मुख्य जोखिम माथिल्लो क्षेत्रमा रहेको भन्दै पराजुलीले त्यहाँका बासिन्दालाई बेलुकासम्मै सतर्क रहन आग्रह गरिएको जानकारी दिए।

    ‘चितवनतिर त जोखिम छैन, खाली अब माछा मार्न जाने अथवा खोलाको छेउछाउ जानुभएकाहरूलाई जोखिम भयो, तर बस्ती तथा बाटाघाटाहरूमा उक्लिने बाढी होइन, ठूलो छैन,’ उनी भन्छन्, ‘बुढीगण्डकी करिडोरमा भने जोखिम भयो ठूलो, अब बाढी पनि पास भइसकेको छ, बुढीगण्डकीबाट त्रिशूलीसम्म आइसकेको छ। त्रिशूलीमा मिसिए पछाडि उच्च जोखिम छैन, अब कटानहरू हुनसक्छ कतै बाटोघाटाहरू, तर बाटोमाथि उक्लिने बस्तीमाथि उक्लिने अवस्था हुँदैन।’

    बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको कारणबारे विभागले अध्ययन गरिरहेको पनि उनले बताए। पराजुलीका अनुसार भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएकाले त्यसले बूढीगण्डकीको शाखा खोला थुनेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरिएको छ।

    ‘भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएको छ। त्यसले शाखा खोला थुनेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक विश्लेषण छ,’ उनले भने, ‘तर विस्तृत कारण पत्ता लगाउन अझै अध्ययन गर्नुपर्नेछ।’

    घटनास्थलको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन भएको र मौसम सफा रहेकाले स्थलगत स्रोत तथा तस्बिरका माध्यमबाट थप जानकारी संकलन गर्ने प्रयास भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस्