images
  • बुढीगण्डकीको बाढी खतरा तहभन्दा माथि, बढ्ने घट्ने क्रम जारी : नवलपरासीसम्मका लागि चेतावनी

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार ११:२४ गते
    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेको जनाएको छ।

    यसैले असर गर्न सक्ने नवलपरासीसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

    बाढी पूर्वानुमान महाशाखाको सूचना साभार गर्दै आज बिहान ०९:२५ बजे प्राधिकरणले भनेको छ, ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेकाले त्रिशूली नदी बेनिघाटसम्म (अति उच्च जोखिम) रहुनेहुनेले उच्च स्थानमा जानुहोला, मुगलिनसम्म (उच्च जोखिम) रहनुहुनेले उच्च सतर्कतामा बस्नुहोला, चितवन र नवलपरासी नदी आसपास (मध्यम जोखिम) रहनुहुनेले सतर्क रही नेपाल बाढी सूचना (फेसबुक पेज) वा ११५५ (२) बाट थप जानकारी लिनुहोला।’

    यसैबिच नेपाल मौसम विभागले आज (आइतबार) बिहान अकस्मात् भीषण बाढी आएको गोरखा (बुढीगण्डकी नदी) मा बितेका २४ घण्टामा खासै वर्षा नभएको जनाएको छ।

    विभागले सूचना जारी गरी भनेको छ, ‘पछिल्लो २४ घण्टको विवरण हेर्दा गोरखा जिल्लामा हल्का वर्षा मात्र भएको देखिन्छ। त्यहाँ खासै ठुलो पानी परेको देखिँदैन।’

    स्थानीयका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका-६ मा बुढीगण्डकी नदी थुनिएर आज बिहान अकस्मात् भीषण बाढी आएको हो।

    बाढीले नदी आसपासका ४-५ वटा बस्ती नै बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्।

    ‘बाढीको सूचनापछि स्थानीयले बस्ती छाडेकाले मानवीय क्षतिचाहिँ भएको सूचना अहिलेसम्म आएको छैन’, उपाध्यक्ष गुरुङले नेपालखबरसँग भनिन्, ‘तर स्थानीयका घर र अन्य भौतिक संरचनामा व्यापक क्षति भएको छ।’

    उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुमचेत क्षेत्रमा सुक्खा पहिरो झरेर बुढीगण्डकी थुनिँदा आज बिहान साढे ३ बजेतिर भीषण बाढी आएको हो।

    प्रतिक्रिया दिनुहोस्