बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य जाँचका क्रममा भएको भनिएको घटना र त्यसपछि सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको विषयप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
असोज १९ गते महासंघका सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तिमा घटनालाई लिएर पत्रकार तथा पत्रकारिता क्षेत्रलाई अनावश्यक रूपमा जोड्ने काम भइरहेको भन्दै आपत्ति जनाइएको छ।
विज्ञप्तिमा पत्रकारिता सत्य, तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित पेसा भएकाले समाचार सम्प्रेषण गर्दा घटनासँग जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।
विशेष गरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा तस्बिर वा भिडियो सार्वजनिक गर्दा थप क्षति पुग्ने हुनाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। मिडियाको नाममा तथ्य पुष्टि नगरी भिडियो प्रसार गर्ने, सनसनीपूर्ण बनाउने तथा भ्युज, फलोअर्स वा आर्थिक लाभ (डलर) का लागि सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्ति पत्रकारिताको मर्यादा र आचारसंहिता विपरीत रहेको महासंघको ठहर छ।
साथै, सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित प्रत्येक सामग्री पत्रकार वा सञ्चार माध्यमले तयार नगरेकाले त्यसैका आधारमा समग्र पत्रकारिता क्षेत्रलाई आरोपित नगर्न महासंघले आग्रह गरेको छ। पत्रकारिताको आवरणमा आचारसंहिता र मानवीय संवेदना विपरीत कार्य गर्नेहरूमाथि आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइने र महासंघका सदस्यबाटै यस्ता अवाञ्छित गतिविधि भएको पुष्टि भएमा कसैलाई पनि संरक्षण नगरी कठोर कदम चालिने स्पष्ट पारिएको छ।
महासंघले भ्युज र आर्थिक लाभभन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन सञ्चारकर्मीहरूलाई तथा अपुष्ट र संवेदनशील सामग्रीको प्रचार-प्रसार नगर्न आम नागरिकलाई अपिल गरेको छ।
गत असोज १७ गते कोहलपुर–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक युवतीले किटानी जाहेरी दिएपछि प्रहरीले सञ्चालक गणेशबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर कानुनी अनुसन्धान जारी रहँदै मेडिकलभित्र दुवै पक्षबीच भएको भनाभन र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यक्तिगत गोपनीयता र कानुनी प्रक्रियाको विषयलाई लिएर चौतर्फी बहस सुरु भएको हो।



chautaripatrika 















प्रतिक्रिया दिनुहोस्