नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) उच्च ब्याजदरको ऋणभार, जहाज सञ्चालनमा देखिएको लापरबाही र प्राविधिक जनशक्तिको अभावका कारण संकटमा परेको छ। गमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संसदीय समितिमा प्रस्तुत गरेको विवरणअनुसार ऋणको किस्ता र ब्याज तिर्नै धौधौ परेको अवस्थाले राष्ट्रिय ध्वजाबाहकको व्यावसायिक भविष्य जोखिममा परेको हो।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै निमित्त महाप्रबन्धक कालाखेतीले निगमको ऋण संरचना र बजार पहुँचको अवस्था दयनीय रहेको बताए।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको ब्याजदर साढे ९ देखि साढे १० प्रतिशतसम्म पुग्दा निगमलाई ठूलो आर्थिक भार परेको उनले उल्लेख गरे।
ऋणदाता निकायहरूले पुरानो बक्यौता नतिरेसम्म पुनर्संरचना गर्न नमान्दा समस्या थप जटिल बनेको छ। हाल ऋणको भारमात्रै सात अर्ब बढी पुगेको कालाखेतीले गुनासो गरे।
निगमको फ्लिट विस्तार नहुँदा नेपालको करिव १३५ अर्बको एभिएसन मार्केटमा निगमको हिस्सा नाममात्रको (१८ अर्ब) रहेको छ। कालाखेतीका अनुसार बाँकी सबै बजार विदेशी एयरलाइन्सको छ, जसले गर्दा ठूलो मात्रामा नेपाली पुँजी बाहिरिइरहेको छ। जहाज थप्न नसक्दा पर्यटन क्षेत्रको विकास र रोजगारी सिर्जनामा समेत नकारात्मक असर परेको उनले बताए।
‘अर्को चुनौती दक्ष जनशक्ति हो। विदेशी वायुसेवाले पाइलट तथा इन्जिनियरलाई तुलनात्मक रूपमा धेरै पारिश्रमिक दिने भएकाले निगममा जनशक्ति टिकाउन कठिन भइरहेको छ। हालै पाँचजना वाइडबडी क्याप्टेनले राजीनामा दिएको अवस्था छ। उनीहरू गएमा वाइडबडी सञ्चालन क्षमतामा समेत असर पर्न सक्छ। वाइडबडीका रोल्सरोयस इन्जिन ६ हजार घण्टा सञ्चालनपछि अनिवार्य ओभरहल गर्नुपर्ने हुन्छ। यसका लागि निकालिएको टेन्डरमा सुरुमा कुनै कम्पनी सहभागी भएनन्। पछि आएका कम्पनीहरूले निगमको बैंक ग्यारेन्टीसम्बन्धी प्रावधान आफ्नो कर्पोरेट नीतिसँग नमिलेको बताएका छन्। त्यसैले यस्ता प्राविधिक तथा खरिदसम्बन्धी विषयमा पनि व्यावहारिक र स्पष्ट समाधान आवश्यक छ’ उनले भने।
वाइडबडीका पाँचजना क्याप्टेन प्रशान्त श्रेष्ठ, सञ्जय पौडेल, रेश्मा सिजापति, प्रणव मल्ल र रचेन्द्र जोशी साथै न्यारोबडीका मोहनिश बिक्रम शाहले पनि राजीनामा दिएका छन्।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्