राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले नदीनालामा बग्ने बालुवा र जङ्गलबाट आउने काठलाई समयमै व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बनेको बताएका हुन् ।
प्रकृतिको उचित सदुपयोग हुन नसक्दा त्यो वरदानको सट्टा अभिशाप बन्दै गएको तर्क उनले गरे। विशेष गरी बाढीको समयमा नदीमा आउने ठुलो परिमाणको बालुवा र काठ तराईतर्फ बग्दा स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठुलो क्षति पुग्ने गरेको उनले उल्लेख गरे। स्वदेशी प्राकृतिक स्रोतको उचित व्यवस्थापन र उपयोग गर्न नसक्नु मुलुकको नीतिगत कमजोरी भएको उनको भनाइ छ।
सदनमा बोल्दै सांसद झाले भने, ‘नदीमा पानीभन्दा बढी काठ बगेको हामीले देखिरहेका छौँ, बालुवा थुप्रिएर नदीको सतह बढेको छ। यसरी हाम्रा प्राकृतिक स्रोतहरू खेर गइरहेका छन्, तर हामी भने मलेसियालगायतका विभिन्न देशबाट काठ आयात गरिरहेका छौँ।’
सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै सांसद झाले नदीजन्य पदार्थ र वनजन्य स्रोतहरूको वैज्ञानिक व्यवस्थापनका लागि तत्काल योजना बनाएर अघि बढ्न माग गरेका छन्। यस्ता स्रोतहरूको व्यवस्थित परिचालन गर्नसके एकातिर विपत्तिको जोखिम कम हुने र अर्कोतिर मुलुकलाई आर्थिक लाभसमेत हुने उनको दाबी छ।


Salina Magar 















प्रतिक्रिया दिनुहोस्