images
  • दसैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन १४, बुधबार १६:०२ गते
    images
    images
    images

    अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू बिग्रिएकाले दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बाटोको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट खुलाउन नसकिने बताए ।

    अध्यक्ष सिटौलाले टिकट दिनुभन्दा पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु आफूहरूको मुख्य प्राथमिकता रहेको बताए। ‘पोहोर साल चौतर्फी दबाब आएपछि टिकट खोलियो, तर बाटो बिग्रिँदा यात्रुहरू तीन दिनसम्म बाटामै बस्नुपर्ने बाध्यता भयो। यो वर्ष त्यस्तो परिस्थिति नआओस् भनेर हामी सतर्क छौँ,’ उनले भने।

    विगतमा जस्तो एकैपटक १०/१५ दिन अगाडिको अग्रिम टिकट खोल्ने सम्भावना यसपटक नरहेको अध्यक्ष सिटौलाले बताए। बाटोको अवस्था हेरेर २ वा ३ दिनको मात्र अग्रिम टिकट दिँदै जाने विकल्पमा महासंघभित्र र सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए। यातायात व्यवस्था विभागसँगको आगामी बैठकपछि मात्रै टिकट बुकिङको अन्तिम निर्णय हुनेछ।

    बाढीपहिरोले सडकहरू छेदविच्छेद बनाएको र पहिरोको जोखिम कायमै रहेकाले यसपटकको दशैंमा अत्यावश्यक नभई यात्रा नगर्न उनले यात्रुहरूलाई आग्रह गरेका छन्। ‘यसपटक प्राकृतिक प्रकोपको अवस्था डरलाग्दो छ। बाटोमा कुन बेला के हुन्छ भन्ने टुङ्गो छैन। त्यसैले अत्यावश्यक काम नभएका यात्रुहरूलाई जोखिम मोलेर यात्रा नगर्न र जहाँ हुनुहुन्छ, त्यहीँ दशैं मनाउन मेरो सुझाव छ,’ सिटौलाले भने।

    ओभरलोडका गाडी तत्काल रोक्न सरकारसँग माग

    अध्यक्ष सिटौलाले ४० देखि ७० टनसम्म भार बोकेका मालवाहक गाडीहरू (ओभरलोड) का कारण जीर्ण बनेका सडकहरू थप भत्किने अवस्थामा पुगेको भन्दै त्यस्ता गाडीलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। रामनगरलगायतका स्थानमा रहेका तौल पुलहरू प्रभावकारी नभएको र हेभी गाडीहरू तौल नजोखाई पास भइरहेको भन्दै उनले यस्तो प्रवृत्तिमा कडाइ नगरे सडक पूर्ण रूपमा अवरुद्ध हुने चेतावनी दिए।

    विगतका वर्षहरूमा जस्तो यसपटक यातायात व्यवसायीले भाडा बढाउनुपर्ने कुनै माग नराखेको उनले स्पष्ट पारेका छन्। तर, यात्रु बोकेर हिँडेका गाडीहरूलाई सडकमा अनावश्यक चेकिङ गरेर दुःख दिने काम रोक्न उनले ट्राफिक प्रहरीलाई आग्रह गरे।

    ‘सुरुवाती बिन्दु (जस्तै काठमाडौँ वा इटहरी) मा चेक गरेर एउटा ‘चिट’ दिएपछि गन्तव्यमा नपुग्दासम्म शङ्कास्पद अवस्थामा बाहेक अनावश्यक ठाउँमा रोकेर दुःख दिनु भएन,’ उनले भने। दुईजना चालक राखेर सुरक्षित यात्रा गराउन व्यवसायीहरू प्रतिबद्ध रहेको पनि उनले बताए।

    गत भदौ १० गतेको बाढीपहिरोका कारण गाडीहरू बसपार्कमै थन्किँदा यातायात व्यवसायी र यातायात मजदुरहरू गम्भीर मारमा परेको सिटौलाले बताए। बैंकको ऋण तिर्न र स्टाफहरूलाई तलब/खाना खुवाउन व्यवसायीलाई धौ–धौ परेको उनको भनाइ छ।

    हालैको बाढीपहिरोबाट यातायात क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन भएको र महासंघले कम्पनी प्रणालीबाट आएका डाटाहरू सरकारलाई बुझाउने तयारी गरिरहेको सिटौलाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्