काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका नागरिकहरूलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूप्रति शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुभकामना सन्देशमा सभापति रवि लामिछानेले संविधान केवल अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको बताउँदै उनले संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेमा मात्र लोकतन्त्रको सार्थकता सिद्ध हुने विचार व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको स्पष्ट पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संविधानलाई एक जीवन्त दस्तावेजका रूपमा व्याख्या गरेका छन्। राजनीतिक अभ्यास र अनुभवका आधारमा संविधान संशोधन तथा परिमार्जन हुन सक्ने भए पनि त्यसको समीक्षा गर्दा विपन्न र सीमान्तकृत वर्गलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
बेथिति र कमजोरीहरूलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउन आजको दिन विवेकपूर्ण बहस गर्ने उपयुक्त समय भएको उनले उल्लेख गरेका छन्। साथै, संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्ग र आम नागरिकलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकजुट हुने प्रेरणा देओस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुभकामना व्यक्त गरेका छन्।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्