कलाकार सीताराम कट्टेल (धुर्मुस)ले फेरि पनि सरकारले आफ्नो आवाज नसुनेको गुनासो गरेका छन्।
दुई महिना अथक प्रयास गरेर न्यायको लागि राज्यलाई गुहार्दा पनि न्याय नपाएपछि आफू फेरि अमेरिका नै फर्किएको जानकारी उनले दिएका छन्।
‘यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई महिनाअथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।
समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। १८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’
उनले यसबाट आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको पनि बताएका छन्।
‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ कट्टेलले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ। १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।’
उनले राज्यको व्यवहारबाट आफ्नो मन निकै भारी भएको बताएका छन्।
मन निकै भारी भएको छ। ओठ कापेका छन्। आँखा रसाएका छन्। तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले भनेका छन्, ‘कुनै दिन राज्यले सम्झिनेछ। समयले सत्य बोल्नेछ। हाम्रो पीडा सुनिनेछ। त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ। अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ। र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन। त्यही दिनको पर्खाइमा हामी रहनेछौँ।’
उनले भनेका छन्, ‘चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा, मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।’



chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्