images
  • एउटा बीभत्स अपराधले खोसेको निर्दोष मुस्कान

    images
    images
    images

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दसधुरेका स्थानीय मनोज चौधरी र मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजेदेखि अचानक बेखबर भइन्।

    गाउँको बीचैमा रहेको आफ्नै आँगन र गल्लीहरूमा तोते बोली बोल्दै खेल्ने ती कलिली बालिका एक्कासि गायब भएपछि परिवार र छिमेकीमा रुवाबासी सुरु भयो। जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयको ‘प्ले ग्रुप’ मा भर्खरै भर्ना भएकी गरिमालाई खोज्न आफन्त र इलाका प्रहरी कार्यालय सिमराको टोलीले गाउँका कुनाकाप्चा चाहारे, तर तीन दिनसम्म उनको कुनै अत्तोपत्तो पाउन सकेनन्।

    त्यो अज्ञात र कहालीलाग्दो पर्खाइ मंगलबार साँझ पुगेर एउटा दर्दनाक सत्यमा बदलियो। बालिका हराएको स्थानभन्दा करिब २०० मिटर दक्षिणतर्फको भक्तिटोलमा रहेको एउटा सुनसान घरभित्र उनी बीभत्स र मृत अवस्थामा भेटिइन्।

    उक्त घरका घरधनी बीरबहादुर रोक्काको परिवार लामो समयदेखि हेटौंडामा बस्दै आएका थिए। भाडामा लगाइने गरिएको सो घर विगत पाँच महिनादेखि पूर्ण रूपमा खाली थियो र ढोकामा तालासम्म लगाइएको थिएन। मंगलबार साँझ सो खाली घरबाट कडा दुर्गन्ध आउन थालेपछि स्थानीयले झ्यालबाट भित्र नियालेका थिए। भित्र कपडामा पोको पारेर फालिएको अवस्थामा बालिकाको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरियो।

    प्रहरी टोली पुगेर हेर्दा बालिकाको शव नराम्ररी सुन्निएको थियो भने उनको गुप्ताङ्गमा चोट स्पष्ट देखिन्थ्यो। घटनास्थलको प्रकृति र शवको बीभत्स अवस्थाले बालिकामाथि बलात्कार गरी हत्या गरिएको स्पष्ट आधार भेटियो। त्यसपछि बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापासहितको उच्च प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धानलाई तीव्र बनायो।

    प्रहरीले शवको कानुनी मुचुल्का प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि अस्पताल पठायो र वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेको तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानको घेरा कडा पार्यो।

    प्रहरीले कुकुर टोलीसहित खोजी सुरु गर्दा एक विचित्र दृश्य देखियो। सोही पालिका–२ का १६ वर्षीय सुमन थापा नाम गरेका किशोर “कसले गरेछ हत्या?, त्यसलाई जसरी पनि पक्राउ गर्नुपर्यो” भन्दै प्रहरीको टोलीसँगै अघिपछि हिँडडुल गरिरहेका थिए।

    उनी आफैँ चिन्तित बनेको अभिनय गर्दै अनुसन्धान टोलीलाई नै अल्झाउने कोसिस गरिरहेका थिए। तर, वीरगञ्जबाट ल्याइएको तालिमप्राप्त कुकुरले घटनास्थल वरपर सुँघ्दै सीधै सुमन थापातिरै इशारा गरेपछि अनुसन्धानको सुई उनीतर्फ सोझियो। कुकुरको सङ्केतलगत्तै प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले सुमनलाई नियन्त्रणमा लियो।

    प्रहरी कार्यालयमा ल्याएर कडा सोधपुछ गरिएपछि सुमनको कुरुप सत्य बाहिर आयो। उनी वीरगञ्ज–पथलैया रुटमा चल्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सहचालक हुन्। मृतक बालिका गरिमाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालक २४ वर्षीय प्रोग्रेस चौधरीको घर थियो। बालिका सो घरमा बराबर आउजाउ गरिरहन्थिन्।

    आइतबार बिहान करिब साढे ८ बजे सुमनले चालक चौधरीको घरमा खेलिरहेकी गरिमालाई फकाएर चकलेट दिन्छु भनी सुनसान र खाली घरभित्र पुर्याएको बयान दिएका छन्।

    प्रहरीसँगको बयानमा सुमनले स्वीकारे अनुसार, खाली घरभित्र लगेर उनले बालिकामाथि बलात्कार गरे। अत्याचार सहनै नसकेर बालिका लगत्तै बेहोस भइन्। बालिका बेहोस भएपछि अत्तालिएका सुमनले आफ्नो अपराध ढाकछोप गर्न डोरीले बालिकाको घाँटी कसेर हत्या गरे। अनि त्यहाँबाट भागेर पुनः चालक प्रोग्रेस चौधरीकै घरमा पुगे। त्यहाँ पुगेर उनले नुहाए र केही नभएजस्तै गरी सामान्य बनेर बसे। दिउँसो भएपछि उनी फेरि सोही खाली घरमा फर्किए र मृत बालिकाको शरीरलाई एउटा कपडामा पोको पारेर कुनामा फाले।

    सुमनले घटनामा आफ्नो मात्रै पूर्ण संलग्नता रहेको बयान दिएका भए पनि, प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धानका लागि म्याजिक भ्यान चालक प्रोग्रेस चौधरीलाई पनि नियन्त्रणमा लिएको छ।

    प्रहरीले पक्राउ परेका सुमन थापाको कानुनी प्रक्रिया अनुसार स्वास्थ्य जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ भने बालिकाको शव शल्यपरीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

    यता, आफ्नै आँखाअगाडि खेलिरहेकी काखकी कलिलो मुनाजस्ती छोरीको यसरी बीभत्स हत्या भएपछि गरिमाको परिवार पूर्ण रूपमा विक्षिप्त बनेको छ। बालिकाकी आमा मानमती चौधरी मंगलबार साँझ शव फेला परेदेखि नै अर्धचेत अवस्थामा छिन्।

    बुधबार बिहानदेखि उनको घरमा छिमेकी र आफन्तहरूको ठूलो भीड लागेको छ, तर छाती पिटेर रोइरहेका आफन्तजनका माझ आमा मानमती भने स्तब्ध छिन्; उनको मुखबाट शब्द नै निस्कन सकेको छैन।

    यस अमानवीय र बीभत्स घटनाको खबर सार्वजनिक भएलगत्तै दसधुरे र आसपासका स्थानीयबासी आक्रोशित बनेका छन्। दोषीमाथि कडाभन्दा कडा र हदैसम्मको कारबाहीको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि मुख्य पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन सुरु गरेका थिए, जसका कारण राजमार्ग केही समय तनावग्रस्त बनेको थियो।

    सडकमा उत्रिएका सर्वसाधारणले यस्ता जघन्य अपराध गर्ने पापीलाई कडा कानुनी सजाय दिन सरकारसँग जोडदार माग गरेका छन्। स्थिति नियन्त्रणमा लिँदै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले अनुसन्धानलाई कुनै कसर बाँकी नराखी अघि बढाइएको र दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्