• images
    images

    चुरेको पवित्र छातीमा भारतीय भक्तजनले मच्चाए फोहोरको वितण्डा

    • ओम डिसी ओम डिसी
    • २०८३ श्रावण २६, मंगलवार १८:०२ गते
    images
    images
    images
    images

    बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित चुरे पहाडको चुचुरोमा अवस्थित बाबा बर्फानी आश्रम र दुद्धेश्वर महादेव मन्दिरको पवित्रतामाथि पछिल्लो समय छिमेकी मुलुक भारतबाट आउने तीर्थयात्रीहरूको गैरजिम्मेवारीपन र चरम लापरबाहीले ठूलो वज्रपात पारेको छ।

    चार दशकभन्दा बढी समयदेखि जोडिएको बाबा बर्फानीको ऐतिहासिक आध्यात्मिक महिमा, चुरे पहाडको प्राकृतिक सुन्दरता र आश्रमको शान्त वातावरणले गर्दा यो स्थल पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

    तर, भारतीय क्षेत्रबाट हूलका हूल भित्रिने दर्शनार्थीहरूले यो पावन धामलाई श्रद्धा र पूजाअर्चना गर्ने ठाउँ नभई आफ्नो घरको फोहोर फ्याँक्ने ‘डम्पिङ साइट’ जस्तै बनाइदिँदा यहाँको वातावरणीय तथा आध्यात्मिक स्वरूप नै कुरूप बनेको छ।

    बाँकेको नरैनापुरबाट दुई घण्टाको कठिन यात्रापछि पुगिने हरियाली जंगल र पहाडको काखमा रहेको यो स्थलमा विशेष गरी हरेक सोमबार भारतबाट हजारदेखि १५ सयसम्मको संख्यामा तीर्थयात्रीहरू ओइरिने गर्छन्।

    सोमबारको पूजाका लागि अघिल्लो दिन नै आश्रम पुगेर रातभर बस्ने, खाने र विश्राम गर्ने यी भारतीय दर्शनार्थीहरूले छाडेर जाने दुर्गन्धका कारण सिंगो मन्दिर परिसर अहिले नाक थुनेर हिँड्नुपर्ने गरी डुङ्ढुङ्ती गनाउने बनेको छ।

    मन्दिर परिसरभरि जताततै चुरोटका बट्टा, गुट्खाका खोल, प्लास्टिकका बोतल, जुठो खानाका कन्टेनर र गुट्खा खाएर भुइँमा जथाभावी थुकिएका राता दागहरू मात्रै नजर पर्छन्।

    मन्दिर प्रवेश गर्दा पाउनुपर्ने मनको शान्ति, सुगन्धित धूपको बास र स्वच्छ हावाको साटो अहिले जताततै फोहोरको गन्ध फैलिएको छ। भारतबाट धार्मिक यात्राको नाममा आउने तर न्यूनतम सरसफाइ र मन्दिरको मर्यादाको हेक्का नराख्ने यस्ता उच्छृङ्खल र चेतनाहीन व्यवहारले गर्दा पवित्र चुरे क्षेत्रको वातावरण दिनानुदिन ध्वस्त भइरहेको छ भन्दा फरक पर्दैन।

    भारतीय भक्तजनहरूले सीमापारिबाट ल्याएर फैलाएको यही तीव्र प्रदूषण र कुरूप वातावरणकै कारण अहिले स्वदेशी श्रद्धालुहरू यहाँ जान हिचकिचाउन थालेका छन्।

    प्राकृतिक मनोरमता, आध्यात्मिक आतिथ्य र आस्थाको केन्द्र मानिने यो ठाउँमा नेपाली पर्यटकहरूको उपस्थिति घट्नुको एउटै मुख्य कारण भारतीय तीर्थयात्रीहरूको यस्तै गैरजिम्मेवार हर्कत र चेतनाहीन व्यवहार नै हो।

    भारतबाट दर्शनका लागि आएका केही नागरिकहरूले यहाँको धार्मिक महत्त्व र शान्त वातावरणको तारिफ गरे पनि व्यवहारमा भने उनीहरू स्वयंबाटै यो पवित्र धाम सबैभन्दा बढी प्रदूषित र कुरूप बनाइएको छ।

    आफ्नै भूमिमा रहेको यति ठूलो धार्मिक धरोहर सीमापारिबाट आउनेहरूको यस प्रकारको मनपरीका कारण नासिँदै जानु अति नै विडम्बनापूर्ण बन्दैछ। चारैतिर घना वन र पहाडको उच्च चुचुरोमा अवस्थित यो मन्दिर नेपालको धार्मिक पर्यटनका लागि अति नै आकर्षक र महत्त्वपूर्ण सम्भावना बोकेको गन्तव्य हो। यस्तो पवित्र सम्भावना बोकेको धरोहरलाई जोगाउन अब ढिला गर्ने हो भने चार दशकको तपस्याले अड्याएको यो पावन बर्फानी धाम धार्मिक आस्थाको केन्द्र होइन, गनाउने फोहोरको एउटा विशाल डङ्गुरमा परिणत हुने निश्चित छ।

     

    प्रतिक्रिया दिनुहोस्