कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके देशभरमै उत्कृष्ट जिल्ला बन्न सफल भएको छ। बाँके प्रहरी ‘सर्वोत्कृष्ट कार्यसम्पादन’तर्फ पहिलो स्थान हासिल गर्न सफल भएको हो। प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको नेतृत्वमा रहेको बाँके प्रहरीले असार महिनामा उत्कृष्टता हासिल गरेको हो। यसअघि २०८२ चैत र २०८३ बैशाखमा पनि बाँके देशभरमै उत्कृष्ट जिल्ला बन्न सफल भएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन र न्याय सम्पादनमा बाँके प्रहरीले गरेको प्रभावकारी कार्यको मूल्यांकन गर्दा जिल्ला उतृकृष्ट ेखिएको छ।
प्रहरी प्रधान कार्यलयका अनुसार बाँके जिल्लाले कूल १०२ पूर्णाङ्कमा ९४.६९ अंक प्राप्त गर्दै ९२.८३ प्रतिशत हासिल गरी प्रथम स्थान प्राप्त गरेको छ। त्यस्तै रुपन्देही ८९.८२ प्रतिशतका साथ दोस्रो र काठमाडौं ८६.७२ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका छन्।
बाकेमा एसपी अंगुर जिसीको नेतृत्वमा जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउन प्रभावकारी रणनीति अवलम्बन गरिएको छ। विशेषगरी संगठित अपराध नियन्त्रण, लागुऔषध विरुद्धको कारबाही, फरार अभियुक्त पक्राउ तथा अनुसन्धान प्रक्रियामा तीव्रता ल्याउने कार्यमा उल्लेखनीय प्रगति भएको स्पष्ट देखिएको छ।
स्थानीय तह, प्रशासन र समुदायसँग समन्वय गर्दै सुरक्षा व्यवस्थालाई व्यवहारिक र परिणाममुखी बनाउने बाँके प्रहरीको प्रयास सफल देखिएको छ।त्यसैगरी, नागरिकमैत्री प्रहरी सेवालाई प्राथमिकता दिँदै सेवाग्राहीमैत्री वातावरण निर्माण, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन तथा जनचेतनामूलक गतिविधिमा विशेष जोड दिइएको थियो।
बाँके जिल्ला संवेदनशील जिल्लामध्ये पर्ने भएकाले यस्तो जिल्लाको सफल कमाण्ड गर्दै उत्कृष्ट जिल्ला बन्न सफल हुनु निकै महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले एसपी जिसीको नेतृत्व अत्यन्त प्रभावकारी र उत्कृष्ट रहेको स्पष्ट देखाएको छ ।
आउनुहोस , अब जानौँ असार महिनाभरीमा के के गर्यो बाँके प्रहरीले ?
जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
असारभर २१६ वटा मुद्दा दर्ता भएका छन् भने १५७ जना प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयन अभियान अन्तर्गत ९२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ४ करोड ७१ लाख रुपैयाँ भन्दा बढी बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ ।
लागूऔषध नियन्त्रण अभियानमा २४ वटा मुद्दा दर्ता गरी ३९ जनालाई पक्राउ गरिएको छ । यस क्रममा ब्राउनसुगर, चरेस, नाइट्राजेपाम र ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा ३५ लाख ५९ हजार रुपैयाँ भन्दा बढीका अवैध सामान बरामद गरिएको छ ।
असार महिनामा १९ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु र २७ जना घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको प्रहरीको विश्लेषण छ । अपराध न्यूनीकरणका लागि ११५ वटा विद्यालय तथा समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३ हजार ५२७ जनालाई सहभागी गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले एक महिनामा १ हजार ५६ पटक पिकेट, ८३२ पटक सवारी चेकिङ र ५ हजार ४८ पटक ग्रामीण गस्ती गरेको जनाएको छ। विशेष परिस्थितिका पाँच घटनामा ९० जना प्रहरी परिचालन गरिएको थियो।
असार महिनामा भएका चार वटा विपद्का घटनामा २५ जना प्रहरी परिचालन गरी पाँच जनाको उद्धार गरिएको छ। नागरिकता तथा अन्य कागजातसम्बन्धी १८१ वटा मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ।प्रहरीको हटलाइन तथा सम्पर्क नम्बरमा एक महिनामा एक हजार ९०१ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमार्फत ९२१ जनाले सेवा लिएका छन्।

chautaripatrika 











प्रतिक्रिया दिनुहोस्