• images
    images

    तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व हो : फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २, शनिबार १९:०५ गते
    images
    images
    images
    images

    फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।

    स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

    खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्रान्स दुवै टोली तेस्रो स्थानको खेल खेल्न इच्छुक नभए पनि राष्ट्रिय जर्सीको सम्मानका लागि जित निकाल्नु आवश्यक रहेको उल्लेख गरे ।

    ‘यो मैत्रीपूर्ण खेल होइन । तेस्रो स्थानका लागि खेलिने आधिकारिक प्रतिस्पर्धा हो । खेलाडी, प्रशिक्षक समूह र मेरो जिम्मेवारी यो अन्तिम लक्ष्य पूरा गर्नु हो । यो फाइनलभन्दा कम महत्त्वपूर्ण हुन सक्छ, तर हामीले आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ डेसचाम्प्सले भने ।

    विश्वकपपछि फ्रान्सको मुख्य प्रशिक्षकबाट बिदा हुने तयारीमा रहेका डेसचाम्प्सले तेस्रो स्थान हासिल गरेर आफ्नो कार्यकाल सुखद अन्त्य गर्न चाहेको पनि बताए । हाम्रो लक्ष्य अब तेस्रो स्थान सुरक्षित गर्नु हो। यो जर्सी लगाउँदा त्यसप्रतिको जिम्मेवारी पनि आउँछ । मलाई थाहा छ, यो मेरो अन्तिम खेल हुनेछ । म कसैलाई रुन चाहन्नँ । एउटा अध्याय सकिँदैछ, तर जीवन अघि बढिरहन्छ,’ उनले भने ।

    फ्रान्सका डिफेन्डर इब्राहिमा कोनाटेले पनि सेमिफाइनलको हारपछि कुनै पनि खेलाडी तेस्रो स्थानको खेल खेल्न इच्छुक नभएको स्वीकार गरे । तर उनले टोलीका लागि लामो समय योगदान दिएका डेसचाम्प्सलाई विजयी बिदाइ दिन सबै खेलाडी प्रतिबद्ध रहेको बताए ।

    ‘हामीमध्ये कसैले पनि तेस्रो स्थानका लागि खेल्न चाहेका थिएनौँ । तर अब विकल्प छैन। प्रशिक्षकले फ्रान्सेली फुटबलका लागि धेरै योगदान दिनुभएको छ । उहाँप्रति कृतज्ञता व्यक्त गर्ने सबैभन्दा राम्रो माध्यम यो खेल जितेर कांस्य पदक जित्नु हो,’ कोनाटेले भने ।

    फ्रान्स र इंग्ल्यान्डबीचको तेस्रो स्थानको खेल शनिबार अमेरिकाको मियामीमा हुनेछ । दुवै टोली सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको अन्तिम खेल जित्दै कांस्य पदकसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्यमा छन् ।

    प्रतिक्रिया दिनुहोस्