• खुस्बुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १८, सोमबार ००:३४ गते
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गरेकी छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।

    प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको बताए ।
    उनले भने, ‘भिजिट भिसाको दुरुपयोग विगतदेखि नै हुँदै आएको छ । त्यसलाई नियन्त्रण गर्न मन्त्रालय, विमानस्थल र सम्बन्धित विभागहरूलाई कडा निर्देशन दिइएको छ ।’

    प्रधानमन्त्रीका अनुसार भिजिट भिसामा विदेश गएर कामका लागि अन्तर्वार्ता दिने र पछि वर्किङ भिसामा परिवर्तन गर्ने वैकल्पिक प्रक्रिया पनि रहेको छ ।

    उनले भने, ‘भिजिट भिसामा गएर काम गर्न खोज्नेहरूले वर्किङ भिसामा कन्भर्ट गर्न सक्ने व्यवस्था छ । श्रम मन्त्रालयले यसको व्यवस्थापनका लागि विभिन्न क्षेत्र समेटेर काम गरिरहेको छ ।’

    यसैबीच विद्युत पूर्वाधारबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले देश तत्काल पूर्ण रूपमा विद्युतीय युगमा जान नसक्ने स्पष्ट पारे।
    ‘हामी अहिले तुरुन्तै विद्युीय युगमा जान सक्ने अवस्था छैन । साच्चिकै देशका हरेक भान्सामा अहिले नै विजुलीबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर सबस्टेसन पड्किन्छन् । त्यसको क्षमता नै छैन अहिले । त्यो क्षमतालाई विकास गर्न पैसा चाहिन्छ,’ उनले थप भने, ‘अहिलेको संरचनाले सबै घरमा विद्युतीय चुलो प्रयोग गर्दा ट्रान्सफर्मर र सबस्टेसन धान्न सक्दैनन् । त्यसका लागि ठूलो लगानी आवश्यक छ ।’

    प्रधानमन्त्रीका अनुसार विद्युत पूर्वाधार सुधारका लागि ट्रान्सफर्मर, तार र सबस्टेसनको स्तरोन्नति गर्नुपर्नेछ । त्यसका लागि स्रोत जुटाउन ५० युनिटभन्दा माथिको विद्युत प्रयोगमा कर लगाउने प्रस्ताव गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्