• पेनाल्टी सुटआउटमा आर्सनलको सपना खरानी: पिएसजीले खोस्यो च्याम्पियन्स लिगको ट्रफी

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १७, आईतवार ०१:१२ गते
    images

    फुटबलमा कहिलेकाहीँ एउटै खेलले खुसी र आँसु दुवै सँगै लिएर आउँछ। शनिबार राति खेलकुद प्रेमीहरूले त्यस्तै एउटा ऐतिहासिक खेल देख्न पाए । युइएफए च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट–जर्मेन र आर्सनल आमनेसामने भएका थिए । जहाँ ट्रफी जित्ने आर्सनलको सपना अन्ततः पेनाल्टी सुटआउटमा पुगेर खरानी भएको छ ।

    खेल सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक थियो । दुवै टोलीले मैदानमा आफ्नो शतप्रतिशत दिएका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट १–१ गोल भयो । त्यसपछि खेल अतिरिक्त समयम्स गयो । तर त्यहाँ पनि दुवै टोलीको डिफेन्स यति बलियो देखियो कि कसैले गोल थप्न सकेनन् । १२० मिनेटको मिहिनेतपछि पनि खेल १–१ को बराबरीमै सकियो ।

    अब खेलको निर्णय गर्ने पालो पेनाल्टी सुटआउटको थियो । यस्तो बेला खेलाडीहरूमाथि निकै ठुलो मानसिक दबाब हुन्छ । दुवै टोलीका गोलकिपरहरूले गोल बचाउन हरप्रयास गरे । तर पेनाल्टी सुटआउटको यो परीक्षामा पिएसजी भाग्यमानी साबित भयो ।
    पिएसजीले पेनाल्टी सुटआउटमा आर्सनललाई ४–३ ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि आफ्नो नाममा गर्‍यो । फाइनलसम्म निकै उत्कृष्ट खेल खेलेर आएको आर्सनलका लागि यसरी उपाधि गुमाउनु पक्कै पनि निकै दुखद क्षण हो । तर अर्कोतर्फ,पिएसजीका खेलाडी र समर्थकहरूका लागि भने यो एउटा ठुलो उत्सव र कहिल्यै नबिर्सिने जित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्