• दीपेन्द्रको घातक बलिङपछि कुशलको विष्फोटक शतक, अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक जित

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २, शनिबार १६:०४ गते
    images

    आइसिसी विश्वकप लिग–२ अन्तर्गत भर्खरै सम्पन्न रोमाञ्चक खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार र फराकिलो जित दर्ता गरेको छ। ओपनर कुशल भुर्तेलको विष्फोटक शतकीय पारीको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर, ८० बल बाँकी छँदै सजिलै भेटाएको हो।

    नेपाललाई एकपक्षीय जित दिलाउने क्रममा ओपनर कुशल भुर्तेलले आफ्नो एकदिवसीय (ODI) करियरकै उत्कृष्ट र उच्च स्कोर बनाए। क्रिजमा सुरुदेखि नै हाबी भएका भुर्तेलले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतमा १२० रनको अविजित शतकीय पारी खेले।
    यसअघि उनको व्यक्तिगत उच्च स्कोर ११५ रन थियो, जुन उनले १४ फेब्रुअरी २०२३ मा यही मैदानमा ओमानविरुद्ध बनाएका थिए। आजको प्रदर्शनसँगै उनले आफ्नो पुरानो रेकर्ड समेत तोडेका छन्।

    त्यस्तै, अर्का ओपनर आसिफ शेखले ५८ रनको महत्त्वपूर्ण अर्धशतकीय योगदान दिँदा, यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे। बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले मात्र १ विकेट लिन सके, बाँकी बलर नेपालका ब्याट्सम्यानसामु निरिह बने।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै अलआउट भएको थियो। एक समय बलियो स्थितिमा रहेको अमेरिकाले १५३ रन बनाउँदा मात्र ३ विकेट गुमाएको थियो। तर, नेपाली बलरहरूको घातक कमब्याकका अगाडि अमेरिकी मध्यक्रम र तल्लो क्रम तासको महलझैं ढल्यो। अमेरिकाले थप ३७ रन जोड्दा आफ्ना बाँकी ७ विकेट गुमाउन पुग्यो।

    अमेरिकाका लागि ओपनर स्मित पटेलले ८३ रन र सेहन जयसूर्याले ५० रनको अर्धशतकीय पारी खेले पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउनु बाहेक अन्य कुनै पनि अमेरिकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
    अमेरिकालाई सस्तैमा समेट्न नेपालका दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट चटकाए। त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट आफ्नो नाम गरे।

    पहिलो खेलमा स्कटल्याण्डसँग मात्र २ रनको स्तब्धपूर्ण पराजय भोगेको नेपालले यस खेलमा भने सानदार पुनरागमन गरेको छ। अमेरिकाविरुद्धको यो सानदार र फराकिलो जितले नेपाली टोलीको मनोबल उच्च बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्