सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ । सीमावर्ती तथा पिछडिएको मानिने क्षेत्रमा अवस्थित विद्यालयले उच्च जिपिएसहित उल्लेखनीय सफलता प्राप्त गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ ।
दसगज्जा नजिकको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको यो विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो । यस वर्षको एसईईको नतिजाले विद्यालयले अघि सारेको सुधार अभियान सफल भएको स्पष्ट संकेत दिएको छ । स्थानीय अभिभावक, बुद्धिजीवी तथा शिक्षा सरोकारवालाहरूले यस उपलब्धिलाई ‘ग्रामीण शिक्षामा सम्भव भएको सकारात्मक परिवर्तन’ का रूपमा लिएका छन् ।
विद्यालयका प्रधानाध्यापक भोला यादवका अनुसार यो सफलता एक दिनको परिणाम नभई दीर्घकालीन योजना, अनुशासित वातावरण, शिक्षकहरूको समर्पण तथा विद्यार्थीहरूको निरन्तर मेहनतको प्रतिफल हो ।
उनले भने,‘केही वर्षअघि यस्तो नतिजा कल्पनाजस्तै लाग्थ्यो। तर अहिले विद्यालयमा बनेको शैक्षिक वातावरण, शिक्षकहरूको लगनशीलता र विद्यार्थीहरूको मेहनतले विद्यालयलाई नयाँ उचाइमा पुर्याएको छ। अब हाम्रो लक्ष्य सतप्रतिशत गुणस्तरीय नतिजा हो।’
२०२७ सालमा स्थापना भएको यो विद्यालय क्षेत्रकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ । तर केही वर्षअघिसम्म कमजोर व्यवस्थापन, शैक्षिक अनुशासनको कमी र नेतृत्व अभावका कारण विद्यालयको अवस्था खस्किँदै गएको स्थानीयहरू बताउँछन् । पछिल्लो समय भने विद्यालयले नयाँ ऊर्जा र स्पष्ट दिशासहित सुधारको यात्रा थालेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासको सक्रियता, प्रधानाध्यापक भोला यादवको शैक्षिक नेतृत्व तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको सहयोगात्मक भूमिकाले विद्यालय सुधार अभियानलाई प्रभावकारी बनाएको अभिभावकहरूको भनाइ छ । विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन, परीक्षा तयारी कोचिङ, शिक्षक–अभिभावक समन्वय तथा कडा अनुशासनलाई प्राथमिकतामा राखिएको कारण नतिजामा उल्लेखनीय सुधार आएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासले विद्यालयलाई केवल परीक्षा केन्द्रित नभई व्यवहारिक र गुणस्तरीय शिक्षाको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।उनले भने, ‘ग्रामीण क्षेत्रका विद्यार्थीले अवसर पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाण हाम्रो विद्यालयले दिएको छ। अब हामी प्रविधिमैत्री, प्रतिस्पर्धी र व्यवहारिक शिक्षा प्रणालीतर्फ अघि बढिरहेका छौं।’त्यसैगरी गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको मुख्य प्राथमिकतामा राखिएको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निरन्तर लगानी र सहकार्य जारी रहने बताए। उनले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय तह प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
विद्यालय दक्षिण सीमावर्ती शान्त वातावरणमा अवस्थित भएकाले अध्ययनका लागि अनुकूल शैक्षिक माहोल बनेको शिक्षकहरू बताउँछन् । आधुनिक शिक्षण पद्धति, नियमित मूल्यांकन प्रणाली तथा दक्ष शिक्षकहरूको मार्गदर्शनका कारण विद्यार्थीहरूले विज्ञान, गणित लगायत जटिल विषयमा समेत उत्कृष्ट नतिजा हासिल गरेका छन् ।पूर्व–पश्चिम हुलाकीमार्गसँग जोडिएको यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पछिल्ला वर्षहरूमा विद्यालयप्रति अभिभावकहरूको विश्वास समेत उल्लेखनीय रूपमा बढेको देखिन्छ । निजी विद्यालयतर्फ आकर्षित हुने धेरै अभिभावक अहिले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी भर्ना गराउन थालेका छन् ।

Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्