• आगजनीबाट खरानी बनेको भाटभटेनीले ८ महिना पछि पायो पुनर्जन्म

    ‎आगजनीबाट खरानी बनेको भाटभटेनी पुनः उठ्यो, मीनबहादुर गुरुङको भावुक सन्देशसहित पोखरामा फेरि खुल्यो सुपरमार्केट ‎८ महिनाको पुनर्निर्माणपछि सन्चालनमा__ आन्दोलनको पीडादेखि पुनर्जन्मसम्मको कथा, जेनजी आन्दोलनको विनाशपछि पुनः जीवन पाएको भाटभटेनी, भित्तामा टाँसिएका पीडादायी सम्झनासहित सुरु भयो सेवा

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २२, मंगलवार २२:३४ गते
    images

    पोखराको न्यूरोड क्षेत्रमा अवस्थित भाटभटेनी सुपरमार्केट फेरि एकपटक नयाँ रूपसहित सञ्चालनमा आएको छ। केही समयअघि झकिझकाउ विज्ञापन, फ्लेक्स र एलईडी स्क्रिनले भरिने उक्त भवन अहिले भने फरक भावनात्मक सन्देशसहित देखिएको छ। ८ महिनाअघि भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको सुपरमार्केट पुनः निर्माणपछि सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुपरमार्केटमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको थियो। त्यसबेला खरानीमा परिणत भएको भवन अहिले पुनः उभिएको छ। पुनर्निर्माणपछि भवनको भित्तामा त्यही विनाशको सम्झना झल्काउने तस्बिरहरू टाँसिएका छन्। ती तस्बिरको अगाडि मीनबहादुर गुरुङ दुवै हात जोडेर प्रार्थना गरिरहेको भावुक तस्वीर राखिएको छ, जसले सबैको ध्यान आकर्षित गरेको छ।

    ‎उक्त तस्वीरसँगै उनले व्यक्त गरेको सन्देश पनि उत्तिकै मार्मिक छ— हे भगवान्! अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्। यसले व्यवसाय मात्र होइन, सामाजिक शान्ति र स्थायित्वप्रतिको उनको चाहना झल्काउँछ।
    ‎८ महिनासम्म लगातार मर्मतसम्भार र पुनर्निर्माण कार्य गरेपछि सुपरमार्केट पुनः खुला गरिएको हो। यद्यपि, अझै केही निर्माण कार्य बाँकी रहेकाले पूर्ण रूपमा सञ्चालनमा आउन भने समय लाग्ने बताइएको छ। सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेल का अनुसार हालका लागि बिहान १० बजेदेखि सेवा सुरु गरिएको छ।
    ‎उनका अनुसार आगामी दिनमा आधुनिक पूर्वाधार, व्यवस्थित संरचना र सुरक्षित किनमेल वातावरणसहित ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। उपभोक्ताको सुविधा र अनुभवलाई प्राथमिकतामा राख्दै सुपरमार्केटलाई अझ उन्नत बनाउने तयारी भइरहेको उनले जानकारी दिए।  भाटभटेनी पुनः सञ्चालनमा आएसँगै पोखरामा सकारात्मक सन्देश प्रवाह भएको छ। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्सलगायतका सामग्री एकै ठाउँमा उपलब्ध हुने भएकाले स्थानीय उपभोक्तालाई ठूलो राहत मिलेको छ। विशेषगरी, विनाशकारी घटनापछि पनि व्यवसाय पुनर्जीवित हुनु निजी क्षेत्रको दृढताको उदाहरणका रूपमा हेरिएको छ।

    अध्यक्ष गुरुङले कठिन परिस्थितिमा पनि साथ दिने ग्राहक, शुभचिन्तक र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। कठिन अवस्थामा देखाउनुभएको धैर्यता, विश्वास र सहयोगप्रति हामी अत्यन्तै कृतज्ञ छौँ, उनले भने, आगामी दिनमा पनि यस्तै साथ र विश्वास रहने अपेक्षा गरेका छौँ।
    ‎जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोर्ने निजी क्षेत्रमध्ये भाटभटेनी प्रमुख उदाहरणका रूपमा रहेको थियो। तर, पुनर्निर्माणसँगै यसले व्यवसायिक पुनरुत्थान मात्र होइन, आशा, धैर्यता र पुनः सुरुवातको सन्देश पनि दिएको छ।

    प्रतिक्रिया दिनुहोस्