• images
    images

    सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    • Salina Magar Salina Magar
    • २०८३ बैशाख ३, बिहीबार १७:१५ गते
    images
    images
    images
    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी रहेको बताएकी छन्।

    बिहीबार काठमाडौंमा आयोजित ‘भूमिगत महिला’ पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले पार्टी निर्माणमा महिलाहरुको विभिन्न भूमिकाहरू हुने उल्लेख गर्दै पुस्तकमा तीमध्ये एउटा पक्षलाई बढी उजागर गरिएको बताइन्।

    उनले त्यतिबेलाको कठिन परिस्थितिमा पार्टीको विचारलाई आत्मसात गर्दै महिलाहरूले जोखिमपूर्ण अवस्थाबीच पनि अघि बढेको स्मरण गरिन्।
    उनले भनिन्, ‘पार्टी निर्माणमा विभिन्न भूमिका हुन्छ, त्यो मध्यको पुस्तकमा एउटा भूमिका बढी चर्चा गरिएको छ । अर्को मार्गदर्शनको कुरा हुन्छ, विचारको कुरा पनि हुन्छ । त्यतिखेर पार्टीको विचारलाई स्वीकार गरेर त्यो खालको अप्ठ्यारो काँडैकाँडाको बीचमा उहाँहरु अगाडि बढ्नुभयो । उहाँ अहिलेको नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँहरुबाट हामीले, धेरै कुराहरु सिक्न सक्छौ ।’

    भण्डारीले इतिहासले भविष्यलाई मार्गदर्शन गर्ने उल्लेख गर्दै हरेक वर्तमान कालान्तरमा इतिहास बन्ने बताइन्। उनले भने, ‘हरेक वर्तमान इतिहास हुन्छ, त्यतिखेर वर्तमान थियो अहिले इतिहास भइरहेको छ । इतिहासले भविश्यलाई मार्गदर्शन गरिरहेको हुन्छ । समय अनुकुल भूमिकाहरु निर्वाह गरेको पात्र चर्चित हुन्छ ।’

    लैङ्गिक समानताको सवालमा अझै पनि दृष्टिकोणमा फरक रहेको संकेत गर्दै उनले पुरुष र महिलाबीचको सोचमा केही अन्तर देखिने टिप्पणी गरिन्।

    ‘खासगरेर लैङ्गिक समानता र समान प्रतिष्ठाको लागि लडाइमा अलिकति महिलाप्रतिको दृष्टिकोण पुरुष नेता वा त्यो नेता नभनौं हेर्न दृष्टिकोणमा केही न केही फरक हुन्छ अन्यथा नलियौं,’ उनले भनिन् ।

    ०५६ सालतिरको अवस्थालाई स्मरण गर्दै उनले देश संकटमा परेका बेला महिलाहरूको भूमिका अग्रपंक्तिमा देखिने गरेको बताइन् ।

    ‘जतिखेर देशमा अप्ठ्यारो परिरहेको हुन्छ त्यतिखेर महिलाहरुको भूमिका अग्रभागमा देखिएको छ । ०३५÷०३६ सालको आन्दोलन पनि हामीले नजिकबाट हेर्यौं, त्यसवेलाको आन्दोलनको अग्रभागमा उभिने नवपुस्ताको रुपमा पर्छौ ।त्यसवेला महिलाप्रति दमन बढ्दै गएपछि महिलाहरुको सहभागिता र नेतृत्व अग्रभागमा आयो’, उनले भनिन् ।

    कार्यक्रममा एमाले नेतृ बिन्दा पाण्डेले पनि बोल्दै भूमिगत आन्दोलनका महिलाहरूको संघर्ष र योगदानको उच्च मूल्याङ्कन गरिनुपर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस्