• images

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल काठमाडौंमा, नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता हुने

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १, आईतवार १२:४६ गते
    images

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका हुन्। भुटान हुँदै ‘ड्रुक एयर’को विमानबाट भ्रमण टोलीसहित उनी काठमाडौं आइपुगेका हुन्।

    यो भ्रमण पूर्वनिर्धारित तथा नियमित कार्यक्रम अन्तर्गत भएको हो। भ्रमणका क्रममा भोवेलले प्रधानसेनापतिसहित नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    भेटवार्तामा दुई देशबीचको रक्षा सहकार्य, द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।भ्रमणका क्रममा टोलीले काभ्रेको पाँचखालमा रहेको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

    यसअघि भोवेलले बिहीबार नयाँ दिल्लीमा भारतीय प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनी भुटान पुगेका थिए।प्रतिनिधि सभाको फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्च पदका अमेरिकी सैन्य अधिकारी हुन्। यसअघि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे. पापारो पनि नेपाल आएका थिए।

    प्रतिक्रिया दिनुहोस्