• धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २०, मंगलवार १३:५७ गते
    images

    रौतहटमा लगातार तीन दिनदेखि आकाशे वर्षाका कारण खेतमा पानी जमेको छ । खडेरीका कारण धाँजा फाटेको धान खेतमा अहिले आकाशे वर्षाको पानी जमेको हो ।
    वर्षा नभएर धान रोप्न नपाएका र रोपेको धान पनि सुकेर गएको समयमा साउन तेस्रो सातामा आएर पर्याप्त वर्षा हुँदा किसानलाई राहत मिलेको स्थानीय मीन प्रसाद मैनालीले बताए ।
    उनका अनुसार लामो समयको प्रतिक्षापश्चात पर्याप्त वर्षा हुँदा धानलाई राहत मिलेको छ । अहिले परेको पानीले बाँझो रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएको उनको भनाइ छ । वर्षाले गर्मीको राप पनि घटाएको उनले बताए ।
    खडेरी र घामले डढ्नै लागेको धानमा वर्षाले हरियोपन ल्याएको छ । आकासे वर्षासंगै गण्डक नहरपनि पानी छाडेकाले किसान खुसी भएका छन् ।
    भारतीय पक्षले दिएको साढे ६ सय क्युसेक पानी गण्डक नहरमा ब्लक नम्बर १२ सम्म पानी पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले बताए ।
    यो नहरको पानी रौतहटसम्म पुग्ने उनले बताए । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    मौसम विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो । आइतबार र सोमबार परेको लगातारको वर्षाका कारण बागमती तथा लालबकैया नदीको जलस्तर बढेको छ ।
    गौरका सडक नै जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले वर्षाबाट क्षति भएको भनी कहिँकतैबाट कुनै जानकारी नआएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्