• काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, विश्वकै दोस्रो प्रदूषित शहर बन्यो, घर बाहिर ननिस्कन आग्रह

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २६, मंगलवार १३:५७ गते
    images

    काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्रदूषणसमेत थपिएको छ ।
    वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ ।

    एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क निकै खराब रहेको छ । मंगलबार बिहान एक्यूआई २०१ भएको छ । सोमबार २०० रहेको थियो ।
    यससँगै काठमाडौँ सोमबार र मंगलबार विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । पहिलो स्थानमा मंगलबार बिहान भारतको दिल्ली रहेको छ ।

    यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।

    उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे ।

    मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्