images
  • बारामा बालकमाथि गोली प्रहार भएको घटनाप्रति सिजपको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १७, सोमबार १४:०५ गते
    images

    काठमाडौं । बारा जिल्लाको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर बालक घाइते भएको घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    राज्यको सुरक्षा निकायबाट नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्नेमा उल्टै गोली लागेर बालक घाइते हुनु अत्यन्त गम्भीर, दुःखद र चिन्ताजनक भएको भन्दै संस्थाले आपत्ति जनाएको हो ।

    सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा बालबालिका कुनै पनि राजनीतिक विवाद, प्रदर्शन, झडप वा हिंसात्मक गतिविधिको मारमा पर्न नहुने उल्लेख गरिएको छ । बालबालिकाको जीवन, सुरक्षा, सम्मान र संरक्षणको अधिकार संविधान, बालबालिकासम्बन्धी ऐन २०७५ तथा बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले सुनिश्चित गरेको स्मरण गराइएको छ ।

    विज्ञप्तिमार्फत सिजपले भनेको छ, ‘बालबालिकाको जीवन अमूल्य छ र उनीहरूमाथि हुने कुनै पनि प्रकारको हिंसा, लापरवाही तथा अधिकार उल्लङ्घन कदापि स्वीकार्य हुन सक्दैन। बालबालिका शान्ति क्षेत्र हुन् र उनीहरूलाई हिंसा, द्वन्द्व र असुरक्षाबाट मुक्त राखिनुपर्छ। राज्यका प्रत्येक जिम्मेवारी निकाय बालबालिकाको जीवन, सुरक्षा र सम्मानको अधिकार सुनिश्चित गर्न पूर्ण जवाफदेही बन्नुपर्छ।’

    सिजपले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी गोली प्रहारमा जिम्मेवार व्यक्तिहरूको पहिचान गरेर कानुनबमोजिम कडा कारबाही गर्न सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषद् समक्ष माग गरेको छ । त्यसैगरी घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा दीर्घकालीन पुनर्स्थापनाको निःशुल्क व्यवस्था गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको छ ।

    अनुसन्धान तथा न्यायिक प्रक्रियामा बालमैत्री पद्धति अपनाई बालकको गोपनीयता, मर्यादा र सर्वोत्तम हित सुनिश्चित गर्नुपर्ने माग विज्ञप्तिमा उठाइएको छ । सार्वजनिक कार्यक्रम तथा भीड नियन्त्रणका बेला बालबालिकाको सुरक्षालाई प्राथमिकता दिएर बल प्रयोगसम्बन्धी मापदण्डको पालना गर्न, मानव अधिकार आयोग र बाल अधिकार परिषद्ले तत्काल अनुगमन गर्न तथा राजनीतिक दल र प्रशासनले बालबालिकालाई कुनै पनि जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता जनाउन पनि सिजपले अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्