काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ ।
प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो । त्यतिबेला कम्पनीको नाम सार्वजनिक गरिएको थिएन । पछिल्लो अपडेटमा भने उक्त उपकरण सामसङले विकास गरिरहेको उल्लेख गरिएको छ ।
प्राप्त विवरणअनुसार ट्याब्लेट बन्द अवस्थामा ८ इन्चको हुनेछ भने खोल्दा यसको डिस्प्ले १७ इन्चसम्म विस्तार हुनेछ । यद्यपि, उपकरणको प्राविधिक विशेषताबारे थप जानकारी सार्वजनिक भएको छैन ।
ट्याब्लेटको फोल्डिङ डिजाइन कस्तो हुनेछ भन्ने पनि स्पष्ट भइसकेको छैन । यसमा एउटै १७ इन्चको स्क्रिन फोल्ड हुने वा १७ इन्चको भित्री डिस्प्लेसँगै बाहिर छुट्टै ८ इन्चको स्क्रिन रहने दुई सम्भावना रहेको बताइएको छ ।
सामसङ डिस्प्लेले यसअघि विभिन्न प्रविधि प्रदर्शनीमा ठूला फोल्डेबल स्क्रिनका नमुना प्रस्तुत गरिसकेको छ । तर कम्पनीको मोबाइल डिभिजनले भने अहिलेसम्म यस प्रकारको उपकरण व्यावसायिक रूपमा बजारमा ल्याएको छैन ।
यसअघि सन् २०२३ मा ‘ग्यालेक्सी जेड ट्याब’ नामको फोल्डेबल उपकरण विकास भइरहेको चर्चा चले पनि त्यो व्यावसायिक उत्पादनका रूपमा सार्वजनिक हुन सकेको थिएन ।
फोल्डेबल उपकरणको बजारमा नयाँ उत्पादनको चर्चा बढिरहेका बेला सामसङको यो विकाससम्बन्धी खबर सार्वजनिक भएको हो । यद्यपि, कम्पनीले १७ इन्चको फोल्डेबल ट्याब्लेटको आधिकारिक घोषणा, सार्वजनिक गर्ने मिति वा बजारमा उपलब्ध हुने समयबारे कुनै जानकारी दिएको छैन । एएनआई


Salina Magar 












प्रतिक्रिया दिनुहोस्