काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संगठित रूपमा आर्थिक अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीका अनुसार उनीहरूले पूर्वयोजनाअनुसार विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि नोक्सानी पुर्याई गैर कानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको छ । उक्त कार्य आपराधिक विश्वासघात तथा संगठित अपराधअन्तर्गतको कसुर देखिएकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरिएको हो।
त्यस्तै, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल बालाजुस्थित दुग्ध वितरण आयोजनामा कार्यरत ४६ वर्षीय विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल डीडीसी केन्द्रीय कार्यालयमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय पक्राउ परेका छन्।
यसैगरी, बागमती धुलो दूध कारखाना हेटौँडामा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव, नवलपुर–रगरुडा चिस्यान केन्द्रका इन्चार्ज ३२ वर्षीय नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत ४६ वर्षीय शिवनन्दन राय र सोही केन्द्रका इन्चार्ज ४८ वर्षीय बिखबहादुर भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक अनियमिततासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्