काठमाडाैं- तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा सञ्चारगृहमै शाही सेना खटाएर समाचारहरू सेन्सर गरिएका थिए । अहिले बालेन शाहकालमा ज्ञानेन्द्र शाहकालकै झल्को दिने गतिविधि दोहोरिएका छन् । समाचारकक्षमै जबर्जस्ती छिरेर पत्रकार उठाउने घटनाअघि पनि आतंक मच्चाइएका छन् ।
गत २९ असारमा कान्तिपुर पब्लिकेसन, हिमालयन टिभी र अनलाइनखबर डटकमका कार्यालयअगाडि आवतजावत नै अवरोध हुने गरी शंकास्पद रूपमा गाडी तेर्स्याएर आतंक निम्त्याइएको थियो । निजी नम्बरप्लेटका ती सवारी करिब पाँच घण्टा गेटमा तेर्स्याएर आवतजावत अवरोध गरिएको थियो ।
त्यस्तै, समाचार लेखेकै आधारमा जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई दुईपटक पक्राउ गरिसकेको छ । जनआस्था अनलाइनमा प्रकाशित समाचारले वैयक्तिक गोपनीयता भंग गरेको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई २७ साउनमा पक्राउ गरेको थियो ।
श्रेष्ठसहित उनको घर तथा कार्यालयबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाइल, आइप्याडलगायतका डिभाइस जफत गरेको थियो । श्रेष्ठको पक्राउविरुद्ध पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले पक्राउलाई गैरकानुनी ठहर गर्दै श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरिदिएको थियो । त्यसपछि १ भदौमा श्रेष्ठ रिहा भएका थिए ।
तर, ३१ असोजमा प्रहरीले श्रेष्ठलाई पुनः पक्राउ गर्यो । समाचारको मामिलामा रास्वपा नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा उनलाई निवासबाटै पक्राउ गरिएको थियो । समाचारजन्य विषय प्रेस काउन्सिलको भएको भन्दै त्यहीँ गएर छलफल गर्ने सहमति भएपछि साइबर ब्युरोले उनलाई रिहा गरेको थियो ।


chautaripatrika 












प्रतिक्रिया दिनुहोस्