कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले तालिमप्राप्त दुई कुकुर परिचालन गर्ने भएको छ। सीमा क्षेत्रमा सुरक्षा जाँच र निगरानीलाई प्रभावकारी बनाउन अल्फा र डेल्टा नामका कुकुर परिचालन गर्न लागिएको हो।
सशस्त्र प्रहरीका अनुसार दुवै कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गुल्ममा राखिनेछ। अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ। आवश्यकताअनुसार उनीहरूलाई सीमा क्षेत्रमा सुरक्षा जाँच तथा निगरानीका लागि परिचालन गरिनेछ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दुवै तालिमप्राप्त कुकुर गड्डाचौकी गुल्ममै रहने जानकारी दिए। सीमा क्षेत्रमा शंकास्पद वस्तु तथा पदार्थको पहिचान गर्न उनीहरूको सहयोग लिइनेछ।
कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको र खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्र्याउने क्रम बढिरहेको अवस्थामा तालिमप्राप्त कुकुर परिचालनले नियन्त्रण प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्