रास्वपाले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ।
धादिङबेसीबाट अभियानको सुरुवात गर्दै रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र नागरिकबीच नियमित संवाद आवश्यक रहेको बताए। उनले निर्वाचनको समयमा मात्रै मतदाताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा बाहिर निस्केर जनताका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको बताए।
खरेलले राज्यको केन्द्रीय संरचना र नागरिकको दैनिक जीवनबीच देखिएको दूरी कम गर्न जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको बताउँदै घरदैलोका क्रममा नागरिकका गुनासा, सुझाव, आवश्यकता तथा अपेक्षा संकलन गरिने बताए।
अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल गरिनेछ। स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन प्रयोग गरिने खरेलले बताए।
अभियानमा खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा. राम लामा तथा केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्।
रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तहका बस्ती तथा टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछ। भेटघाटबाट प्राप्त स्थानीय समस्या, सुझाव र अपेक्षालाई संकलन गरी पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याइने उनले बताए।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्