काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले संविधान र कानुनको प्रभावकारी कार्यान्वयन तथा लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवस २०८३ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले शान्ति–सुरक्षा कायम गर्ने आफ्नो जिम्मेवारीलाई प्रहरीले व्यावसायिकता, निष्पक्षता र नागरिकमैत्री सेवाभावका साथ निर्वाह गरिरहेको स्पष्ट पारेका हुन्।
आईजिपी कार्कीले नेपालको संविधानलाई राष्ट्रिय एकता, सार्वभौमसत्ता, स्वाधीनता, लोकतान्त्रिक मूल्य र विधिको शासनको साझा आधारका रूपमा अर्थ्याएका छन्। संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार, सामाजिक न्याय, समानता र समावेशिताका मूल्यलाई व्यवहारमा सुदृढ गर्दै सुरक्षित र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नु सम्पूर्ण नेपालीको साझा दायित्व रहेको कुरामा उनले जोड दिएका छन्।
राष्ट्रको स्वाभिमान, अखण्डता र सार्वभौम हितको रक्षा गर्दै नागरिकको जीउ, धन, स्वतन्त्रता र अधिकारको सुरक्षा गर्नुलाई नेपाल प्रहरीले आफ्नो अटल कर्तव्य मानेको महानिरीक्षक कार्कीको भनाइ छ।
आफ्नो सन्देशमार्फत उनले संविधानप्रतिको सम्मानलाई व्यवहारमा, देशप्रतिको प्रेमलाई कर्तव्यमा र राष्ट्रप्रतिको प्रतिबद्धतालाई कर्ममा रूपान्तरण गर्न सबैलाई आह्वान गरेका छन्। “राष्ट्रिय स्वाभिमान, अखण्डता र एकतालाई अक्षुण्ण राख्दै आफ्नो जिम्मेवारी इमानदारी र निष्ठाका साथ पूरा गरौँ,” सन्देशमा भनिएको छ, “देशको हितलाई सर्वोपरि राखी संविधान र कानुनको सम्मान गर्दै सुरक्षित, स्वाभिमानी, समुन्नत र समृद्ध नेपालको निर्माणमा आ–आफ्नो स्थानबाट दृढ योगदान गरौँ।”
राष्ट्रहित र राष्ट्रिय एकतालाई सर्वोच्च प्राथमिकतामा राख्दै संविधानको मर्म र भावनालाई आत्मसात् गरेर नेपालको उज्ज्वल भविष्य निर्माणका लागि एकताबद्ध हुन आईजिपी कार्कीले सम्पूर्ण नागरिकमा आग्रह गरेका छन्।


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्