सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनाका ६ घाइते मध्य २ जनाको मृत्यु भएको छ।थप ४ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका– ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।
दुर्घटनाका थप चार घाइतेहरूमा चालक त्रिवेणी – ५ सिम्खका २४ वर्षीय भुपाल पुन, त्रिवेणी– ६ की ४२ वर्षीया लालमती बुढाथोकी, त्रिवेणी– ५ का २९ वर्षीय पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।
घाइते मध्य चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए।यी चार जनालाई त्रिबेणी हल्थ केयर लुहाममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।
शनिबार बिहान ८ बजेतिर भित्री सडक खण्ड अन्तगर्त जिल्लाको त्रिवेणी गाउँपालिका –५ सिम्कस्थित सरस्वती मावि स्कुल नजिकै लु ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप करिब ९० मिटर तल खसेको थियो। घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।



chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्