• images
    images

    छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने

    • Salina Magar Salina Magar
    • २०८३ भाद्र २६, शुक्रबार १२:१९ गते
    images
    images
    images
    images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न छ वटा संसदीय समितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

    प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको २९ औं बैठक बिहान ९ः३० बजे बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुने कार्यसूची छ । छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका अधिकारीहरूलाई आमन्त्रण गरिएको छ ।

    सोही समयमा महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा उत्पीडनबाट संरक्षण गर्ने विषयमा छलफल हुनेछ ।

    यस्तै, बिहान १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत भएको क्षति, उद्धार, राहत एवम् पुनःस्थापनाका विषयमा छलफल हुनेछ । बैठकमा स्वास्थ्यमन्त्री तथा सचिवलाई उपस्थितिका लागि बोलाइएको छ ।

    यसैगरी, दिउँसो १२ः१५ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले नेपालमा पारेको क्षति, विपद् जोखिम व्यवस्थापन, जलवायु वित्तको उपयोग र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ ।

    त्यस्तै, राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ः३० बजे बस्दैछ । बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरणका विषयमा विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

    यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्