• images

    ग्यासको अभाव छैन, माग नै धेरै भयो- मन्त्री गौरी कुमारी

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २२, शुक्रबार १८:२९ गते
    images

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् ।

    उनले सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिइन्।

    ग्यास आपूर्तिका लागि भारत सरकारसँग ३ महिनाको आयात कोटा ४९,५०० मेट्रिक टनबाट बढाएर ६०,००० मेट्रिक टन पुर्‍याउन सहजीकरणका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गरिएको उनले बताइन् ।

    यसका साथै उनले कालबजारी रोक्न निरन्तर अनुगमनको काम पनि भइरहेको उल्लेख गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री गर्न थालिएको बताइन्।

    गौरी कुमारीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई ग्यास वितरणमा प्राथमिकता दिइएको पनि बताइन्।

     

    प्रतिक्रिया दिनुहोस्