• images

    काठमाडौं छिरे हर्क साम्पाङ

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २३, मंगलवार ०७:४२ गते
    images

    धरानका मेयर हर्क साम्पाङ राजधानी काठमाडौँमै सक्रिय राजनीतिक अभियानमा उत्रिएका छन्। आफ्नै नेतृत्वमा स्थापना गरिएको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि उनले सोमबार सिफल चौरमा पार्टीको पहिलो औपचारिक सभा सम्पन्न गरे, जसलाई ‘सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको थियो।

    सभामा साम्पाङले युवालाई संस्कृतिसँग जोडेर स्वाधीन अर्थतन्त्र निर्माण गर्न सबैतिरबाट एकजुट हुन अपिल गरे। उनले भने, “विदेशी ऋणको भरमा विकास सम्भव छैन। देशकै स्रोत र श्रम परिचालन गरेर उन्नत राष्ट्र बनाउने हो।” पुराना पार्टीले देशलाई बदल्न नसकेको आरोप लगाउँदै उनले नयाँ अभियानमा सहभागी हुन आग्रह गरे।

    साम्पाङ पछिल्ला दिनमा सङ्गठन विस्तारलाई ‘श्रमदाता विस्तार’ भन्दै आएका छन्। अनिवार्य श्रम र श्रमदानमार्फत अभाव, गरिबी र विभेद अन्त्य गर्न सकिने उनको तर्क छ।
    उनको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पाँच वर्ष कार्यकाल, अधिकतम दुईपटक मात्र मौका र राष्ट्रपति–उपराष्ट्रपति एउटै जाति वा लिङ्ग नहुने व्यवस्था जस्ता संरचनागत परिवर्तन अघि सारेको छ।

    ‘हर्कवाद’ले सङ्घीय संरचनामा केन्द्रमा दुई सदन र प्रदेशमा एक सदन रहने प्रस्ताव राख्छ। राष्ट्रियसभामा प्रदेशको समान प्रतिनिधित्व र प्रतिनिधिसभामा पूर्ण समानुपातिक प्रणाली अपनाउनुपर्ने उनीहरूको मत छ। प्रदेशका मुख्यमन्त्री पनि स्थानीय तहझैँ प्रत्यक्ष निर्वाचित हुने व्यवस्था पनि एजेन्डामा छ।

    सभामा साम्पाङले मुलुक आज दिशाहीन अवस्थामा पुगेको टिप्पणी गरे। उनका शब्दमा, “देशमा नेतृत्व छैन। रोजगारी, न्याय, सुरक्षा—कसैको ग्यारेन्टी छैन। अहिलेसम्म चुनेका नेताको गम्भीर समीक्षा गर्ने बेला आएको छ।”

    साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङ आफूको अभियानमा तगारो बन्न खोजेको टिप्पणी गरे। उनले घिसिङलाई “दोहोरो चरित्र” भएको व्यक्तिको संज्ञा दिँदै भने,“एकछिन पार्टी होइन भन्छन्, फेरि पार्टी हो पनि भन्छन्। श्रम संस्कृतिको बाटो छेक्न उहाँलाई तुरुपको रूपमा चलाइएको छ। यस्तो चरित्र खतरनाक हुन्छ।”

    आगामी प्रतिनिधिसभा चुनाव लक्षित गर्दै श्रम संस्कृति पार्टीले कोसी प्रदेशका पहाडी क्षेत्रमा निरन्तर सभा–भेला गरिरहेको छ। पार्टीका केन्द्रीय नेतृत्वमा आदिवासी–जनजाति समुदायको व्यापक उपस्थिति छ।

    ‘श्रम गरेर मात्रै देश उँभो लाग्छ’ नारा बोकेर हिँडेका साम्पाङले अघि सारेको ‘हर्कवाद’ प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनबाट मात्र राष्ट्रको दिगो उन्नति सम्भव हुने अवधारणामा आधारित छ। उनका अनुसार, अनिवार्य श्रम र श्रमदान नै उनीहरूको राजनीतिक दर्शनका मुख्य आधार हुन्।

    प्रतिक्रिया दिनुहोस्